चैत्र २१ । प्रिमियर लिग क्लब चेल्सी टिनो अन्जोरिनसंग सम्झौता नविकरण गर्न सहमत बनेको छ।
पछिल्लो हप्ता छलफल सकारात्मक देखिएसंगै चेल्सीले अन्जोरिनलाई सन् २०२५ सम्म क्लबमा राख्न सहमती जनाएको हो। १८ बर्षिया खेलाडीको चेल्सीसंगको सम्झौता सकिन १५ महिना बाँकी थियो। सहमती बनेपनि क्लब र खेलाडीबीच हस्ताक्षर हुन बाँकी छ। तर क्लब सम्झौता नविकरणमा सहमत देखिएको छ।
प्रशिक्षक फ्राङ्क लाम्पार्डले कोरोना भाईरसको प्रकोपका बीच फुटबल गतिविधि बन्द भएपनि क्लबको पहिलो टिममा अन्जोरिनलाई राख्न सहमती दिएका छन्।
चेल्सी खेलाडीको चोटको संकटसंग जुधिरहेको छ। सोही कारण अन्जोरिनले चेल्सीबाट अवसर समेत पाएका थिए। फुटबल निलम्बित हुनु अघि एभर्टनसंग ४–० को जित निकाल्ने क्रममा उनलाई टिममा देख्न पाईएको थियो।
कालुम हडसन ओडोईलाई कोरोना भाईरसको संक्रमण देखिएपछि क्लबका सबै खेलाडी एकान्तवासमा रहेका छन्। तर पछिल्लो समय उनीहरुलाई घर बाहिर निस्कन अनुमती दिईएको छ। उनीहरु घरमै ट्रनिङ गरेर बसेका छन्।
‘म गोल गर्न चाहन्छु। गोलको अवसर सिर्जना गर्न चाहन्छु।’ अन्जोरिनले एक अन्तरवार्तामा भनेका छन्, ‘पाँच बर्षको अन्तरमा म टिमको नेतृत्व गर्न चाहन्छु। एकेडेमीका खेलाडी बाहिर निकाल्न चाहन्छु। जसले मलाई हेरेर रोमाञ्चित हुनेछन्।’
चेल्सीले टोमी अब्राहमसंग सम्झौता नविकरणको प्रयास गरिरहेको छ। फुटबल सिजन रोकिएपनि खेलाडीसंग छलफल अघि बढिरहेको छ।
प्रशिक्षक लाम्पार्डले एकेडेमीकै खेलाडीलाई पहिलो टिममा अवसर दिएका छन्।
चेल्सी समर ट्रान्सफरमा बोरुसिया डर्टमण्डका खेलाडी जोडन साञ्जो सहितका केही स्टार खेलाडी क्लबबसंग जोड्न चाहन्छ। चेल्सीले यसअघिनै अजाक्सका हाकिम जियचलाई लण्डन क्लबसंग अनुबन्धित गरिसकेको छ। एजेन्सी