हेटौंडा, चैत्र १९ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बुुधबार दिउँसोदेखि कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण हुने भएको छ।
सरकारले परीक्षणका लागि चीनबाट ल्याएको किट, औषधि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई मंगलबार आईपुगेको थियो। बुधबार दिउँसो ३ बजेसम्ममा आवश्यक जनशक्ति सहित सामग्री हेटौंडामा पुग्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए।
विज्ञको अभावमा भाइरसको अध्ययन गर्न र स्वरूप परिवर्तनबारे जानकारी दिन हेटौंडामा ल्याब संचालनमा आउन सकेको थिएन।
भाइरस, ब्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो।
२०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुई जनामात्र प्राविधिक कर्मचारी रहेका छन्।
यो ल्याब सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गर्न सकिने डाक्टरहरुले बताएका छन्।