चितवन, चैत्र १९ । लकडाउनपछि विपन्न र ज्यालामजदुरी गर्नेहरुमा खाद्यान्न अभाव पूर्ति गर्न खैरहनी नगरपालिकामा तत्काल राहत वितरण तथा व्यवस्थापन समिति गठन गरिएको छ।
खैरहनी नगरपालिका विपद व्यवस्थापन समिति संयोजक समेत रहेका वडा नम्वर १ का वडाध्यक्ष भुमी प्रसाद कडेंलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो।
समिति सदस्यहरुमा नगर प्रवक्ता एवम् वडाध्यक्ष रामशरण पाण्डे, वडाध्यक्षहरु टेकबहादुर थापा क्षेत्री, मनेजर महतो, प्रतिमा कार्की, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,प्रशासकीय अधिकृत दामोदर अधिकारी रहेका छन्।
सो समितिले प्रत्येक वडामा राहत पठाउने र वडाले टोलमार्फत वितरण गर्न लगाउने छ। सम्भवत बिहीबारदेखि प्रत्येक वडामा राहत वितरणको काम हुनेछ । प्रत्येक वडाबाट विपन्न तथा ज्याला मजदुरी गर्नेहरुको तथ्यांक संकलन भईसकेकाले सोही अनुसार वितरण हुने विपद व्यवस्थापन समिति संयोजक भुमी प्रसाद कडेंलले बताए।
बुधबार नगरपालिका मेयर लालमणी चौधरीको उपस्थितीमा बसेको बैठकले राहत वितरण एकद्धार प्रणाली मार्फत गर्ने निर्णय गरेको छ। अब कोही व्यक्ति, संघसंस्थाले राहत वितरण गर्न चाहे नगरपालिकाको राहत कोषमा जम्मा गर्नुपर्ने छ।
नगरपालिकाको मापदण्ड अनुसार ४ जना सम्मको परिवारलाई १० किलो चामल, नुन, तेल, दाल तथा सो भन्दा माथिको परिवारलाई १५ किलो चामल, नुन, तेल र दाल अनिवार्य हुनुपर्ने छ।
नगद सहयोग गर्न चाहेमा नगरपालिकाको खाता नम्वर ०५०९१०११५०६४०२७ मा जम्मा गर्न सकिने र सिधै नगरपालिकामा नगद पनि जम्मा गर्न सकिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए।
वडा समितिले राहत गर्नु पूर्व वडामा दलका प्रतिनिधिहरुको छलफल गराई सहमती अनुसार वितरण गर्ने व्यवस्था समेत बैठकले गरेको छ।


























