काठमाडौं, चैत १५ । समाजवादी पार्टीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न सरकारसँग माग गरेको छ। पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेका हुन्।
‘कोविड–१९ बाट उत्पन्न विषम स्थितिमा सूचना संकलन, विश्लेषण, रणनीति निर्माण, कार्यान्वयन र अनुगमन तथा समग्र व्यवस्थापनको कार्यमा देखिएको फितलोपनको अन्त्य गर्न सरकार, संसदमा उपस्थित दलहरू, जनस्वास्थ्य विज्ञ, स्वास्थ्यकर्मी, औषधी व्यवसायी, निजी अस्पताल संघका प्रतिनिधि, संचारकर्मी, मानवअधिकारकर्मी आदि सम्बद्ध सबै पक्षको सहभागिता हुने गरी एक सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तीमा उल्लेख छ।
समाजवादी पार्टीको विज्ञप्ती यस्तो छः
प्रेस विज्ञप्ती
विश्वमा कोभिड–१९ नामले १९६ भन्दा बढी देशमा संक्रमित भइरहेको कोरोना भाइरसबाट अहिले नेपालमा पनि सन्त्रासको वातावरण सृजना गरेको छ। त्यसलाई नेपालमा प्रवेश हुन नदिनका लागि अहिले नेपालका सम्पूर्ण सीमा नाकाहरू लकडाउन गरिएको छ। यसले मानवीय जीवनमा ठूलो मानसिक असर परिरहेको छ। यस्तो संकटको घडीमा हाम्रो पार्टी त्यसलाई नेपालमा प्रवेश हुन नदिन नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको छ। यस्तो बेलामा बढी त्रास र भ्रम फैलाउने हेतुले नेपालमा पनि महामारी नै भित्रिसकेको जस्तो होहल्लाको पछाडी नलाग्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ। कोरोना भाइरसको प्रकोपबाट उत्पन्न कोविड–१९ को विश्वव्यापी महामारी, यसले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जीवनमा उत्पन्न गरेको मानवीय तथा आर्थिक संकटका सम्बन्धमा हाम्रो पार्टी निम्न आग्रह गर्दछ।
१) कोविड–१९ ले उत्पन्न गरेको संकट एक्काशौं शताब्दिमा विश्वमा देखापरेको अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय संकट हो। कोरोना भाइरस विरुद्ध मानवजातिको यो लडाइँमा धैर्यता, साहस, संकल्प र सहकार्यको ठूलो भूमिका हुन्छ। कोरोना विरुद्धको प्रतिरोेधमा विश्वका सबै देश र नागरिक आफ्नो तरिकाले संलग्न छन। हाम्रो पार्टी यो लडाइँमा वैश्विक ऐक्यबद्धताको भावना व्यक्त गर्दछ। विश्व स्वास्थ्य संगठन तथा राज्य र सरकारले तय गरेका सुरक्षा मापदण्डहरू अपनाउन, आइसोलेसन, क्वारेन्टाइन, सोसियल डिस्टेन्स र लकडाउनको नियम पालना गर्न सबैमा हार्दिक आग्रह गर्दछ। साथै कोरोना संक्रमित बिमारीहरूको रेखदेख र औषधी उपचारको सम्पूर्ण दायित्व लिन राज्यसँग अनुरोध गर्दछ।
२) स्वास्थ्यकर्मीहरू कोविड–१९ बिरुद्धको लडाइँमा अग्रमोर्चाका योद्धाहरू हुन। यतिखेर स्वास्थ्यकर्मीहरूलाई निरन्तर सहयोग र उत्सहित गर्नु सबैको समान कर्तव्य हो। हाम्रो पार्टी स्वास्थ्य सेवासँग सम्बन्धित डाक्टर, नर्स, स्वास्थ्य सहयोगीहरू, जनस्वास्थ्य अधिकारी, ल्याब प्राविधिज्ञहरू, अस्पताल सरसफाई मजदुर, औषधी विक्रेता, एम्बुलेन्स चालक÷सहचालक लगायत सबै पेसाकर्मीहरू तथा यसका विरुद्ध लड्न अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिक आदि सबैको न्यूनतम् ५० लाख बराबरको स्वास्थ्य बीमा घोषणा गर्न तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सावधानीमा कुुनै कमी हुन नदिन हार्दिक अपिल गर्दछ।
३) लकडाउन र स्व–अगलावका नियम पालन गर्न गरीव जनता तथा न्युन आय भएका विपन्न परिवारका लागि असहज हुँदै गएको छ। त्यसैले न्यून आय भएका गरीव परिवार पहिचान गरी लकडाउन अबधिका लागि आथिृक सहयोग वा अत्यावश्यकीय सामानको व्यवस्था गर्न पार्टी सरकारसँग आग्रह गर्दछ। साथै लकडाउनको समयमा आपूर्ती व्यवस्थालाई सुव्यवस्थित गर्न समेत आग्रह गर्दछ।
४) कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने ठूलो सम्भावना रहेको छ। खासगरी नेपालको उद्योग धन्दाहरू, व्यापार तथा व्यवसाय, बैंक तथा वित्तीय क्षेत्र, पर्यटन लगायत सबै क्षेत्रमा यसको नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको छ। लकडाउनको समय लम्ब्याउनुपर्ने अवस्था उत्पन्न भएमा त्यसबाट देशको अर्थतन्त्रमा र्दीघकालीन असर पर्न नदिनका लागि अल्पकालिन ऋण, व्याज मिनाहा, आथिृक सहयोग र अनुदानको प्याकेज ल्याउन हाम्रो पार्टी आग्रह गर्दछ।
५) हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिना बराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको सहयोग समेत गरी पार्टीले एकमुष्ठ रु १० लाख रकम कोरोना प्रतिरोध कोषमा जम्मा गर्ने प्रतिबद्धता गर्दछ। हाल कोविड–१९ विरुद्ध लड्न विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट प्राप्त सहयोगको सहि सदुपयोगको प्रवन्ध मिलाउन समेत हाम्रो पार्टी नेपाल सरकारलाई आग्रह गर्दछ। यो आपतकालिन स्थितिमा उच्च सतर्कता अपनाउन यस आर्थिक बर्षको राज्यको सञ्चित कोषबाट कोरोना प्रतिरोधका लागि खर्च गर्ने व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गर्दछ।
६) कोविड–१९ बाट उत्पन्न विषम स्थितिमा सूचना संकलन, विश्लेषण, रणनीति निर्माण, कार्यान्वयन र अनुगमन तथा समग्र व्यवस्थापनको कार्यमा देखिएको फितलोपनको अन्त्य गर्न सरकार, संसदमा उपस्थित दलहरू, जनस्वास्थ्य विज्ञ, स्वास्थ्यकर्मी, औषधी व्यवसायी, निजी अस्पताल संघका प्रतिनिधि, संचारकर्मी, मानवअधिकारकर्मी आदि सम्बद्ध सबै पक्षको सहभागिता हुने गरी एक सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न सरकारसँग माग गर्दछ।
७) कोविड–१९ बाट उत्पन्न परिस्थितिको सामना गर्न सरकारले चालेका कदमलाई हरतरहले साथ दिन हाम्रो पार्टी सदैब तत्पर छ।
उपेन्द्र यादव
अध्यक्ष
समाजवादी पार्टी