काठमाडौं, चैत्र १५ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण यसै वर्ष तय भएको टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित भएको छ।
विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ। तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै आयोजक जापान ओलम्पिक कमिटि र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको थियो।
ओलम्पिक खेलकुद अब सन् २०२१ मा आयोजना हुनेछ। ओलम्पिकको नयाँ मिति भने तय भएको छैन। तर, आगामी वर्ष आयोजना भएपछि टोकियो ओलम्पिकको नाम परिवर्तन नहुने भएको छ।आगामी वर्ष आयोजना हुने ओलम्पिकको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहने भएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकले ओलम्पिकको इतिहासमा पहिलोपटक सरेको ओलम्पिकको नाम नफेर्ने निर्णय गरेको हो। ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ।
बैठकमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठसहित सबै महादेशका अध्यक्षहरुको सहभागिता रहेको थियो।
बैठकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमम बाखले कोरोनाले विश्वव्यापी रुपमा पारेको प्रभावले सन २०२० को टोकियो ओलम्पिक सार्नु परेको विषय अवगत गराएका थिए।
बैठकले टोकियो ओलम्पिकका लागि प्रदान गरिने खेलाडी छात्रवृती कार्यक्रमलाई सन् २०२१ सम्म निरन्तरता दिने निर्णय समेत गरेको छ।
बैठकले ओलम्पिकमा सहभागिताका लागि हुने छनौट खेलहरुको नयाँ मिति तोकिने र ओलम्पिकको अर्को मिति तय गर्नका लागि सम्बन्धित सबैसँग छलफल गरि अघि बढ्ने निर्णय समेत गरेको छ।
यस्तै ओलम्पिक सार्न गरेको निर्णयलाई अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी, राष्ट्रिय ओलम्पिक कमिटी र जि–२० का देशका नेतृत्वले यसलाई स्वागत र समर्थन जनाएको बैठकमा जानकारी गराईएको थियो।