चैत्र १४ । कोरोना भाइरस (कोभिड–१९) मुलुकमा बढ्न नदिन चीनले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उनीहरुसँग भिसा वा बसोबासको अनुमति भएपनि अस्थायी रुपमा उनीहरुलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो।
चीनले स्थानीय र विदेशी एयरलाइन्समाथि पनि सातामा एउटा मात्र उडान भर्ने अनुमति दिएको छ। साथै उडानमा ७५ प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउने बताइएको छ।
बीबीसीका अनुसार चीनभन्दा बाहिरबाट आउने कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेसँगै यस्तो घोषणा गरिएको हो।
शुक्रबार चीनले तीनदिनमा पहिलो पटक एक जना स्थानीयमा कोरोना भाइरसको संक्रमित फेला परेको बताएको छ। बिहीबार पनि चीनमा ५५ नयाँ संक्रमित पाइएका थिए। तर, उनीहरु मध्ये ५४ जना बाहिरबाट आएका मानिस थिए।
चीनको प्रतिबन्धले कूटनीतिक अधिकारीलाई भने अवरोध नगर्ने जनाइएको छ। साथै, हवाई सेवामा काम गर्ने तथा आपतकालीन मानवीय आवश्यकताको क्षेत्रमा पनि छुट दिइनेछ।
गत महिना चीनले विदेशबाट आउने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो। चीनमा अहिलेसम्म ८१ हजार तीन सय ४० संक्रमित फेला परेका छन्। जसमध्ये तीन हजार दुई सय ९२ जनाको ज्यान गएको छ। अहिलेसम्म पुष्टि भएका पाँच सय ६५ संक्रमित बाहिरबाट संक्रमित भएर चीन आएका थिए।
चीनमा भाइरस निस्किएको वुहानमा अप्रिल ८ देखि लकडाउन खोल्ने निर्णय गरिएको छ। बीबीसीको सहयोगमा