काठमाडौं, चैत्र १४ । केही दिनदेखि ठप्प रहेको दुध संकलन कार्य आइतबारदेखि फेरि सुरु गर्ने तयारी भएको छ। दुग्ध विकास संस्थान (डीडीसी)ले मौज्दातमा रहेको दुध सकिँदै गएपछि दुधको आंशिक संकलन सुरु गर्ने योजना बनाएको हो।
डीडीसीले शुक्रबार मात्रै ७२ हजार नौ सय ८० लिटर दुध बजारमा पठाएको छ। संस्थान अन्तर्गत बालाजु दुग्ध वितरण केन्द्रमा कार्यरत सानुभाइ थापाका अनुसार डीडीसीमा दुधको माग घटे पनि निराशाजनक अवस्था छैन। होटल र स्कुलहरुमा जाने करिब पाँच हजार लिटर दुधको माग मात्रै कम भएको उनले बताए।
डीडीसीले केही दिनदेखि किसानसँग दुध संकलन गरेको छैन। यसअघि ल्याएको दुध नै मौज्दातमा बसेपछि डीडीसीलाई दुध संकलन रोक्नुपर्ने अवस्था आएको थियो।
काठमाडौंमा डीडीसीले वितरण गर्ने दुध भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा चितवनलगायतका क्षेत्रबाट संकलन गरिनेछ। डीडीसीका अन्य वितरण आयोजनामा बढी भएको दुध पनि काठमाडौंमा नै ल्याउने तयारी संस्थानको छ।
तर, माग घटेपछि डीडीसीले मौज्दातमा रहेको दुध नै प्रशोधन गरेर बजारमा पठाइरहेको थापाले बताए। ‘मौज्दात दुध लगभग सकियो, अब भोलि चिसे (चिस्यान केन्द्र) हरुमा रहेको दुध उठाउँछौं,’ उनले भने,‘आइतबारबाट आंशिक रुपमा किसानबाट दुधको संकलन थाल्छौं।’
उनले कहाँबाट कति दुध संकलन गर्ने भनेर कोटा निर्धारण गर्ने बताए। निजी डेरीले लैजाने दुध पनि संकलन गर्न सक्ने अवस्था नरहेको भन्दै थापाले कोटा तोकेर अधिकतम दुध संकलन गरिने जानकारी दिए।


























