वीरगञ्ज, चैत्र १२ । बारामा लकडाउनको अवज्ञा गर्ने ५ जना पक्राउ परेका छन् ।
सरकारको निर्णय उल्लंघन गर्दै हिँड्ने ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पंगेनीले जानकारी दिए।
उनका अनुसार लकडाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिइएको हो। लकडाउन अवज्ञा गरी चलाइएका ८४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
जिल्लाभित्र रहेका औषधी पसल, खाद्यान्न लगायत अति आवश्यक वस्तु बाहेकका अन्य पसल, हाट बजार एवम् मानिसहरू र सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको उनको भनाई छ।
बारामा जारी निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधनहरू मध्ये ट्रिपर ३ ओटा, ट्रक ९ ओटा, ट्र्याक्टर २० ओटा, जीप ५ ओटा, बोलेरो ६ ओटा, स्कर्पियो २ ओटा र मोसा १६ ओटा गरी जम्मा २०५ ओटा सवारी साधनलाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक कारवाही एवम् सम्झाई बुझाई गरी सवारी फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।