चैत्र १० । कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन भारत सरकारले राजधानी दिल्लीसहित २२ राज्यमा आवतजावत नियन्त्रणका कडा उपाय लागु गरेको छ।
राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु गरिएको बीबीसीले उल्लेख गरेको छ। तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।
आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरेको बीबीसीले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण भेटिएका स्थानहरुमा ती प्रतिबन्ध लागु हुनेछन्। यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ‘जनता कर्फ्यू’ लागु गरिएको थियो।
लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल खुला रहने भारत सरकारले जनाएको बीबीसीले लेखेको छ।
साथै बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ। पेट्रोल पम्प, औषधि पसल तथा दुग्ध सेवा जारी रहनेछन्।
भारत सरकारका अनुसार हाल त्यहाँ ३५० जनामा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ भने सात जनाको ज्यान गइसकेको छ।


























