काठमाडौं, चैत्र ९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु बन्द नगर्ने निर्णय गरेको छ। नेपाल सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावस्यक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु बन्द नहुने सूचना जारी गरेको हो।
कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको विजनेस कन्टिन्युटीलाई मध्यनजर गर्दै यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सुचारु राख्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले निर्देशन गरेको छ। यसका लागि रिमोट एक्सेस वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका व्यवस्था गर्न सुझाव दिएको छ।
बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवस्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा अवलम्वन गर्न राष्ट्र बैंकले सूचित गरेको छ। त्यस्तै सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रवाह गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ। विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न राष्ट्र बैंकको अनुरोध छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारबाट आवस्यक सेवा वाहेकका अन्य सेवा बन्द गर्ने विषयले बैंकहरुको सेवा के हुने भन्ने प्रश्न उव्जिदै आएको थियो।