काठमाडौं, चैत्र ९ । दुई वर्षभन्दा कम सजाय हुने मुद्दामा पक्राउ परेका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्ने निर्णय कार्यान्वयन सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौले आइतबार चोरी,अभद्र व्यवहार र कम परिमाणका लागुऔषधका मुद्दामा म्याद थप गर्न ल्याइएका १५ अभियुक्तलाई धरौटीमा रिहा गर्न निर्देशन दिएको छ।
उपत्यकाकाका प्रहरी कार्यालयहरुलाई यस्तो निर्देशन दिइएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए। जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले पनि यो निर्णय कार्यान्वयन थालेको उनले बताए। हिरासतमा रहेका केही अभियुक्तलाई धरौटीमा रिहा गर्न मातहत प्रहरीलाई निर्देशन दिएको उनले बताए।
सरकारले कोरोना भाइरसको जोखिम आँकलन गर्दै अपराधमा संलग्न भएको आशंकामा व्यक्ति पक्राउ नगरी अनुसन्धान गर्ने निर्णय गरेको थियो। भीडभाड हुँदा कोरोना भाइरस संक्रमण फैलन सक्ने भएकाले जोखिम कम गर्न पक्राउ नगरी, हिरासतमा नराखी अनुसन्धान गर्ने प्रक्रिया अपनाउन महान्यायधिवक्ताको कार्यालयमार्फत् जिल्ला न्यायधिवक्ताको कार्यालय र प्रहरी कार्यालयलाई चैत ६ गते निर्देशन दिएको थियो।


























