काठमाडौं, चैत्र ८ । नेपाल पत्रकार महासंघले कोरोना भाइरसको विश्वव्यापी महामारीबीच गलत र अफवाहपूर्ण सूचना प्रचार हुन नदिन भूमिका खेल्ने निर्णय गरेको छ।
शनिवार बसेको महासंघ केन्द्रीय समितिको बैठकले पत्रकार र सञ्चारमाध्यमले दायित्व पूरा गर्ने, सही सूचना सम्प्रेषण गर्ने लगायत निर्णय गरेको छ। महासंघले पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन र अफिस पाउनै पर्ने भए सवारीसाधनको व्यवस्था गर्न समेत सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
कठिन अवस्थामा सूचना सम्प्रेषणको दायित्व पूरा गर्ने सञ्चारमाध्यम र पत्रकारलाई टेलिफोन, इन्टरनेट लगायतमा सहुलियत दिन समेत महासंघले सरकारसमक्ष माग गरेको छ।
यस्तो छ महासंघको प्रेस विज्ञप्ति –
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको बैठक महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७६ चैत्र ८ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ। बैठकले गरेका निर्णय जानकारी तथा प्रचार प्रसारका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
विश्वभरी नै कोरोना भाइरसको सक्रमण फैलिइरहेको अवस्थामा नेपालमा सक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानीहरुवारे संचार क्षेत्रको उत्तरदायित्वका सम्वन्धमा महासंघका तर्फवाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ। महासंघका तर्फवाट संचार माध्यम र पत्रकारको दायित्वका सम्वन्धमा सामग्रीहरु तयार गर्ने, सुरक्षित रही सही सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र अफवाहपूर्ण प्रचार हुन नदिन भूमिका खेल्ने निर्णय गरिएको छ। यसका लागि अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेको समन्वय तथा अनुगमन संयन्त्र गठन गरिएको छ।
साथै अग्रपंत्तिमा रही समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा निवासवाटै कामकाजको व्यवस्था मिलाउन र कार्यालय आउनैपर्नेका लागि सवारी साधनको व्यवस्था मिलाउन सम्वन्धित संचार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरिएको छ। यसैगरी कठिन अवस्थामा सूचना प्रवाहको दायित्व पूरा गरिरहेका संचार माध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरिएको छ।
रमेश विष्ट
महासचिव


























