काठमाडौं, चैत्र ८ । प्रतिबन्ध उल्लघंन गर्दै विदेशबाट विभिन्न एयरलाइन्सले शनिबार काठमाडौं ल्याएका ६१ जना यात्रुलाई सरकारले क्वारेन्टाइनका लागि खरिपाटी पठाउने तयारी गरेको छ।
सरकारले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी लगाएको यात्रा प्रतिबन्ध उल्लंघन गर्दै यात्रुहरू धमाधम नेपाल आइरहेको पाइएको छ।
सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो।
साथै यी मुलुकबाट अन्य मुलुकलाई ट्रान्जिट बनाएर पनि यात्रु आउन नपाउने सरकारले जनाएको थियो।
सरकारले योसम्बन्धी परिपत्र विदेशी एयरलाइन्सहरूलाई पठाएको भए पनि त्यसको उल्लंघन गर्दै धेरै एयरलाइन्सहरू शनिबार यात्रु लिएर काठमाडौं विमानस्थलमा उत्रिए।
यसरी उत्रिएका ६१ यात्रुलाई क्वारेन्टाइनका लागि खरिपाटी पठाउन लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वर राज पौडेलले जानकारी दिए।
उनीहरू अब १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने पौडेलले बताए।


























