काठमाडौं, चैत्र ८। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक आज पनि बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपरान्ह ५ बजे बैठक बस्ने उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए। यसअघि हिजो पनि बैठक बसेको थियो।
प्रधानमन्त्रीले राष्ट्रवासीका नाममा गरेको सम्बोधनपछि बसेको बैठकले सरकारी संयन्त्रलाई कसरी परिचालन गर्नेबारे छलफल गरेको थियो। आजको बैठकमा समेत कोरोना भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने थप सजगता लगायतका विषयमा छलफल हुने बताइएको छ।
सरकारले १० चैतदेखि देशैभर लामो दूरीको सार्वजनिक यातायात सेवा सञ्चालनमा रोक लगाएको छ। चैत ९ गते देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवासमेत बन्द गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै अत्यावश्यक सेवा प्रदान गर्ने निकाय बाहेकका सबै निकाय बन्द गर्ने निर्णय गरिसकेको छ। प्रधानमन्त्रीले समेत सम्बोधनमा सबै नेपाली नागरिकलाई सुरक्षित हुन र सजगता अपनाउन आग्रह गरिसकेका छन्।


























