वीरगन्ज, चैत्र ६ । कोरोना भाइरसको सन्त्रासका बीच सीमावर्ती भारतीय बजारमा माक्सको अभाव भएपछि तस्करहरुले बढी मूल्यमा बेच्ने गरी नेपालबाट भारततर्फ माक्स तस्करी गर्न थालेका छन्।
पर्सा प्रहरीले बुधबार नेपालबाट भारततर्फ माक्स तस्करी गर्ने २ जनालाई नियन्त्रणमा लिएपछि नेपालबाट भारततर्फ मास्क तस्करी हुने गरेको खुलेको हो।पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–५ का ३८ वर्षीय सुनिल जैसवाल र सोही ठाउँका ३६ वर्षीय अजय महतो छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुले काठमाडौंमा बनेका कपडाका मास्क बसमा हालेर भारततर्फ तस्करी गर्न लागेका थिए। बुधबार बिहान काठमाडौंबाट पर्साको भिष्वा जाने रात्री बस चेकजाँच गर्ने क्रममा २ जनालाई भारततर्फ तस्करी गर्न लागिएको मास्कसहित पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट २० हजार थान मास्क बरामद गरेको छ।


























