काठमाडौं, चैत्र ३ । सांसद जीतेन्द्र नारायण देवले नक्कली राष्ट्रवादको घोडा चढेर प्रतिगमन आउने खतरा बढेको जनाउँदै यसतर्फ सचेत र सतर्क रहन सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली जनताको क्रान्तिबाट स्थापित संघीयता, गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध केही पुराना तथा नयाँ दल लागिपरेको आरोप उनले लगाए।
‘राप्रपाका तीन वटा पार्टी एकता गरेर एउटा बनेको छ। धर्मनिरपेक्ष, गणतन्त्रप्रति प्रश्न गरेको छ। हिन्दूराज्य र राजतन्त्र फर्काउनुपर्छ भन्ने माग अघि सारेको छ। यो पार्टी संघीयताको विरुद्धमा सुरुदेखि नै छ। नयाँ भनिएको साझा पार्टीले संघीयता, धर्म निरपेक्षताका विषयमा जनमतसङ्ग्रहको प्रस्ताव अघि सारेको छ। एएटा पुरानो पार्टी र नयाँ एनजिओ पार्टीको असली अनुहार देखिएको छ। सरकार र पार्टीहरू चिन्तित हुने कि नहुने,’ सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले भने।
अहिले मुलुकको केन्द्रीय राजनीतिमा केही अशुभ सङ्केत देखेको उनले जनाए। यस्तो बेला क्रान्तिका बेला सँगै रहेका वामपन्थी दलहरू र नेपाली कांग्रेस राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्ने सुझाव उनले दिए। तर, सत्ताधारी दल पार्टीभित्रको जोडघटाउ मिलाउनमा रूमल्लिएको आरोप उनले लगाए।
‘राष्ट्रपतिबाट राष्ट्रियसभामा तीन जना नियुक्ति गर्ने व्यवस्था छ। तर, एउटा पार्टीभित्रको जोडघटाउ मिलाउन यसलाई ७ बनाउने बहस भइरहेको छ। संशोधन नै हुनुपर्ने हो भने पनि बहस कहाँ हुनुपर्ने हो। एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन बहस कहाँ भइरहेको छ। प्रदेशको सीमा हेरफेर गर्ने बहस भइरहेको छ,’ उनले भने।
सत्ताधारी दलको आन्तरिक द्वन्द्वले देश दुर्घटनातर्फ अघि बढेको उनले जनाए। वामपन्थी आन्दोलन व्यक्तिपूजा र नेताहरूको देवत्वकरण निर्माण गर्नेतर्फ अघि बढेको आरोप उनले लगाए।
‘यसले देशलाई दुर्घटनातर्फ लैजान्छ। जनताले डेलिभरी चाहेको छ। त्यो डेलिभेरी नेपाली जनताले पाएको छैन। सुशासन पाइराखेको छैन। यो मुलुकमा कुनै प्रतिगमन भयो भने नक्कली राष्ट्रवादको घोडा चढेर प्रतिगमन आउँछ। यो विषयमा नेपाल सरकार र सत्ताधारी दलको ध्यानाकर्षण गर्न चाहन्छु,’ सांसद देवले भने।

























