चितवन, चैत १ । पूर्वी चितवनको रत्ननगर क्षेत्रमा भेटिएका ९६३ जना बालश्रमिकमध्ये ६८८ जनालाई बालश्रमबाट मुक्त गरिएको छ।
सन् २०२० भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा सो तथ्य भेटिएको रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए।
६ सय ८८ जना बालश्रमिकमध्ये १३० जनालाई व्यावसायिक तालिम, २०५ जनालाई विद्यालय निरन्तरताका लागि शैक्षिक सामाग्री, २४० जनालाई मनोपरामर्शसहित पारिवारिक पुर्नर्मिलन, १०३ जनालाई आयआर्जनमा सहयोग र १० जनालाई व्यवसाय गर्ने किसिमका कार्यक्रम गरिएको संघका अध्यक्ष रेग्मीले बताए।
यहाँ श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएकाले हाल २ सय ७५ जना बालश्रमिक रहेका छन्। रत्ननगर स्थायी घर भएका भन्दा पनि अन्य जिल्ला मकवानपुर, धादिङ, गोरखा र भारतमा श्रमिक धेरै रहेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए। नगरपालिकाका मात्रै श्रमिक भए तत्काल समाधान गर्न सकिने र बाहिरी जिल्ला तथा स्थानीय निकायका समेत श्रमिक हुँदा सटिक समयमा न्युनीकरण गर्न नसकिएको मेयर वनको भनाइ छ।
नगरपालिका भित्र हालसम्म ६ वटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन्। सन २०२० सम्ममा १६ वटै वडा बालश्रममुक्त घोषणा गर्ने योजना भए पनि सबै वडामा सो घोषणा गर्न समस्या भइरहेको छ। उद्योग वाणिज्य संघले समन्वय गर्दै आएको उक्त कार्यक्रममा पर्याप्त मात्रामा अभ्यास नपुगेको देखिन्छ।
यता, घोषणा भएका वडाहरुमा पनि अनुगमन न्युन रहेको देखिन्छ। रत्ननगर नगरस्तरिय बाल क्लबकी अध्यक्ष रोनिशा घिमिरेका अनुसार बालबालिकाहरुमा नैतिक शिक्षाको कमी देखिएको छ। उनले घोषणा गरेका वडामा बालबालिकाहरुलाई नैतिक शिक्षा दिन सके मात्रै पनि अभियानले सर्थकता पाउने तर्क गर्छिन्।
हालसम्म रन्तनगर नगरपालिकाभित्र वडा नम्बर ३, ५, १०, १४, १५ र १६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। कानुनअनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन।




















