काठमाडौं, फागुन ३०। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबिरुद्ध लड्न सार्क राष्ट्रहरुलाई गरेको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्दै स्वागत गरेका छन्।
मोदीले कोरोना भाइरसबिरुद्ध लड्न सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने सार्वजनिक प्रस्ताव गरेका थिए। मोदीको प्रस्ताव ओलीले स्वीकार गरेका छन्। अस्पतालबाटै ट्वीटरमा जबाफ दिदै ओलीले मोदीको प्रस्तावको स्वागत गरेका छन् भने त्यसका लागि नेपाल तयार रहेको बताएका छन्।
कोरोना भाइरसविरूद्ध सार्क राष्ट्रको नेतृत्वले बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु। मेरो सरकार यो प्राणघातक रोगविरूद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ, ट्वीटरमा ओलीले लेखेका छन्। भारतीय प्रधानमन्त्री मोदीले भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो नै पठाएका थिए।
मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे सार्कका सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका थिए।
‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्,‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं।






















