काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्दाजका भरमा नेता-कार्यकर्तामाथि अनुशासनको कारबाही मान्य नहुने बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गरेर नेता पौडेलले खुलेआम अन्तर्घात गर्ने र अन्दाजको भरमा आरोपित गरी कारबाही हुनु समान प्रकृतिको नहुने जनाए। तनहुँका कांग्रेस नेता गोविन्दराज जोशीलाई गरिएको अनुशासनको कारबाहीसँगै तुलना गरी अन्यलाई कारबाही गर्नु न्यायसंगत नहुने उनको धारणा छ।
‘स्वयं वागी उम्मेदवार बनेर खुलेआम अन्तर्गत गर्ने व्यक्ति (गोविन्दराज जोशी) र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारबाहीको नाटक जो मञ्चन गरिएको छ।’ उनले भनेका छन्। जोशीकै कारबाहीको रुपमा अन्यलाई पनि कारबाही गर्न लागिएको प्रति उनले आपत्ति जनाएका हुन्। अनुशासनको कारबाहीको प्रक्रिया प्रति आपत्ति जनाउँदै उनले भने, ‘यो घृणित षडयन्त्र हो। यस्तै षडयन्त्र र अनेक विकृत उपाय अबलम्बन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाइँ जारी छ।’

























