काठमाडौं, फागुन २६ । विश्व बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ। यो चार वर्षयताकै सर्वाधिक कम हो।
कोरोना भाइरसका कारण विश्व बजारमा तेलको मूल्य घटेको हो। तेल उत्पादक देशहरुले घट्दो मूल्य नियन्त्रण गर्न भियनामा बैठक डाकेका थिए। रुससँग ओपेकले उत्पादन घटाउन प्रस्ताव राखेपनि अस्वीकार गरिदिएको छ। यसबाट तेलको मूल्य घट्न गयो।
साउदी अरबले पनि तेल बजार आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ। उसले पनि उत्पादन घटाउन मानेको छैन। साउदीले उत्पादन बढाएर मूल्य ६ देखि ८ डलर प्रति ब्यारल सम्म पुग्ने अवस्था बनाएर रुसमाथि दबाब सृजना गर्न खोजिरहेको छ। यसकारण पनि अप्रिलमा तेलको मूल्य घटेर ८ डलर हुनसक्ने देखिएको छ।
नेपालमा के होला ?
हालको अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपाल आयल निगमले देशभित्र गरेको कारोबारले ठूलो फाइदा लिइरहेको छ। एक महिनामै निगमलाई अरबौंको फाइदा हुने देखिन्छ। अहिले पेट्रोलको मुल्य प्रति लिटर १०८ र डिजेल ९७ रुपैयाँ छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ डलरमा झरेमा निगमले हालको मूल्यमा विक्रीवितरण गरेमा ठूलो धनराशी फाइदा गर्न सक्छ। उपभोक्ता भने मारमा पर्न सक्छन्। बढ्दा बढी मूल्य तिर्नुपर्ने तर अन्तर्राष्ट्रिय बजारमा घट्दा खासै नघट्ने कारण मारमा पर्नुपरेको हो।


























