गुलरिया, फागुन, २३ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको समयमा नेपालमा पनि यसको प्रत्यक्षरअप्रत्यक्ष असर परिरहेको छ। नेपालमा पनि कोरोनाको संक्रमण फैलने त्रास बढेसँगै माक्समा कालो बजारी सुरु भएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बर्दियाले माक्समा कालोबजारी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। गुलरिया बजारमा रहेको मध्यपश्चिम पोलिक्लिनिकका कर्मचारी विरेन्द्र थापालाई बढी मूल्यमा माक्स विक्री गरेको आशंकामा शुक्रबार नियन्त्रणमा लिइएको हो।
गुलरिया बजारमै रहेको मध्यपश्चिम पोलिक्लिनिकले कम मूल्यको सर्जिकल मास्कलाई ४५ रूपैयाँमा बेच्ने गरेको सूचनाको आधारमा थापालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
उनले भने, ‘हामीले बिलसहित नियन्त्रणमा लिएका छौं। जिल्ला प्रहरी कार्यालय बर्दियाले कारबाहीका लागि वाणिज्य विभागलाई सिफारिस गर्ने तयारी गरिरहेको छ।’

























