काठमाडौं, फागुन २३ । हिजोआज विश्व तातिएको विषय हो– कोरोना भाइरस अर्थात् कोभिड १९। विश्वभर भाइसरबाट बच्ने उपायहरु बारे सचेतनामूलक सन्देशहरु प्रवाह भइरहेका छन्। ती सन्देशहरुमा ध्यान कम दिइएको विषय हो मोबाइलबाट भाइसर सर्न सक्ने सम्भावना।
प्रायः पकेट र हातमा रही रहने मोबाइल कोरोना मात्र नभइ धेरै प्रकारका भाइरसको स्रोत पनि हो। हिजोआज सार्वजनिक स्थल, धुलो धुँवा देखि ट्वाइलेटसमेतमा फोनको प्रयोग निर्वाध गरिन्छ। जसबाट फोनमा भाइसरहरु आइरहेका हुन्छन्। फोनमा आएको भाइरस जतिबेला पनि हात हुँदै मुखमा जान सक्छन् र मान्छे विभिन्न किसिमको संक्रमणमा पर्न सक्छ।
हालै दि सनले टेलिग्राफलाई उद्धृत गर्दै स्मार्टफोन प्रयोगकर्ताहरूलाई यस भाइरसबाट कसरी बच्न सकिन्छ भनेर केही सुझावहरू प्रदान गरेको छ। टेलिग्राफसँग कुरा गर्दै युनिभर्सिटी अफ साउथ ह्याम्प्टनका प्रोफेसर विलियम केभिलले भने कि यदि तपाईँले आफ्नो हात धोएर आफ्नो स्मार्टफोनको स्क्रिन छुनुभयो र त्यसपछि अनुहार छुनुभयो भने तपाईँलाई कोरोना भाइरस संक्रमण हुन सक्छ।
अर्को अनुसन्धानले भन्छ– एक औसत व्यक्तिले दिनमा २ हजार ६०० पटक फोन हेर्छ र स्मार्टफोनलाई ७६ पटक प्रयोग गर्दछ। यस अवस्थामा, कोरोना भाइरसको संक्रमण सजिलै स्मार्टफोन मार्फत फैलिन सक्छ। स्मार्टफोनलाई दिनको दुई पटक अल्कोहलयुक्त वाइप्सले सफा गर्नुपर्छ। कोरोना भाइरस संक्रमण फ्ल्याट सतह को माध्यमबाट तिब्रगतिमा फैलने बताईएको छ।


























