काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी क्षेत्रष्ठले समृद्ध नेपाल निर्माणको लागि दलहरूबीच एकताको आवश्यक रहेको बताएका छन्। राष्ट्रियसभामा सम्बोधन गर्दे नेता श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धिको लागि आर्थिक विकासको विकल्प नभएकोले सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताएका हुन्।
‘हामीले नेपाललाई समृद्ध, सभ्य र सु–संस्कृत देश हो भनेर विश्वमा चिनाउनु छ। आर्थिक विकासको नयाँ ढाँचामा काम गर्नुपर्नेछ, त्यसको लागि आर्थिक विकासको विकल्प छैन,’ उनले भने, ‘त्यसैले देशको हितका लागि भइरहेको सकारात्मक कार्यमा सत्तापक्ष र प्रतिपक्ष दुवै खालका दलहरू एकतावद्ध हुनु आवश्यक छ।’
अझै पनि ४० लाख नेपाली युवा खाडी मुलुक पुगेको घटना कोट्याउँदै नेता श्रेष्ठले जनताको चाहनाअनुसार काम गर्नुपर्ने बताए। ‘हामीले संघर्ष गरेर जनयुद्ध र जनआन्दोलन मार्फत राजनैतिक संघर्षको अन्त्य गरिसकेका छौँ,’ उनले थपे। तर, राजनैतिक अस्थिरताका कारण बहुमत नपाइने चिन्ता भइरहेका बेला जनताले विश्वास गरेर नेकपालाई दुई तिहाइको बहुमत दिएकोले काम गर्ने वातवरण सिर्जना भएको उनले बताए।
‘हामीले राजनैतिक स्थिरता पाइसकेका छौँ। अब संविधान कार्यान्वयन गरेर देखाउनुको विकल्प छैन,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुवैले मिलेर सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा लाग्नुको विकल्प छैन।’ सरकारले पहिलो वर्षलाई आधार वर्ष र दोस्रो वर्षलाई प्रारम्भिक वर्षको रूपमा काम गरिसकेकोले अबका वर्षहरूलाई विशुद्ध आर्थिक विकासमा खर्चिनुपर्ने उनको भनाइ छ।
मिचिएका भू–भागबारे नेता श्रेष्ठले भने, ‘नेपालको सीमा र सार्वभौकिमताको रक्षा गर्न राजनैतिक दल र जनता सबै मिलेर काम गर्नुपर्छ।’ यसको लागि राष्ट्रिय एकता आवश्यक रहेको उनले दोहोर्याए। ‘त्यसैले प्रतिपक्षी दलले पनि सरकारलाई सहयोग गर्नुपर्छ,’ उनले भने, ‘राजनैतिक संघर्ष त पूरा गर्यौँ, तर कार्यान्वयनको आवश्यकता छ। कार्यान्वयनको लागि सबैले मिलेर काम गर्नुपर्छ।’


























