काठमाडौं, फागुन १९ । नेपाल सरकारले नेपालमा आयोजना गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेका छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन्।
रक्षामन्त्रीको संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार स्थगन गरिएको उनले जानकारी दिए।
नेपाल कोरोनाको उच्च जोखिममा भएको र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थगन गरिएको मन्त्री ज्ञवालीले बताएका छन्।
अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने भनिएको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहससम्बन्धी कार्यक्रम सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको बताइएको छ।
नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागिएको बताइएको थियो।
तर, विश्वभर कोरोनाको आतंक फैलिँदै गएपछि पूर्वसावधानी स्वरुप उक्त कार्यक्रम स्थगित गरिएको बताइएको छ।


























