धनुषा, फागुन १९ । मिथिलाञ्चलको चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै सोमबारदेखि नै विधिवत् होली शुरु भएको छ।
त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागू पर्वको शुरुवात गर्ने परम्परा छ।
आइतबार कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् रुपमा होली शुरु भएको मानिन्छ। १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइएको छ।
परिक्रमामा सहभागी हजारौँ साधुसन्त महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको शुरुआत गरेको हो।
भगवान् तथा साधुसन्त र महात्माले होली पर्वको शुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबीरको प्रयोग शुरु भएको छ।
यसैगरी होलीको आगमनसँगै प्रत्येक वर्षझँ यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाचगान, र ब्यङ्गात्मक कविता तथा चुटकिला प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ।


























