चितवन, फागुन १९ । थारु समुदाय फेरि आन्दोलनमा उत्रिएको छ। बाँकेको कोहलपुरमा भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
मोर्चाको आन्दोलनका कार्यक्रम अनुसार यही फागुन २० र २१ गते दुई थरुहट तराई भुगोलका सबै जिल्लाहरुमा आमहड्ताल र चक्काजामको घोषणा गरेको छ। मोर्चाका संयोजक लक्ष्मण थारु हस्ताक्षरित विज्ञप्तीमा फागुन १९ गतेदेखि थरुहट तराई क्षेत्रहरुमा मसाल जुलुस निकाल्ने उल्लेख छ।
थरुहट आन्दोलनका माग मुद्धाहरु तथा सरकारले थरुहट आन्दोलनकर्मीहरुसंग गरेको सहमति सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जान बाध्य भएको संयोजक लक्ष्मण थारुले बताए। वर्तमान राजनीतिक परिस्थिति र अवस्थामा मोर्चाका चौध बुँदे माग मुद्धाहरु पुरा गराउनका लागि सडक, सदन र सरकारमा सशक्त दवाब सिर्जना गर्न शान्तिपूर्ण सशक्त संघर्षको विकल्प नरहेकाले आमहड्तालको कार्यक्रम गर्न बाध्य भएको संयोजक थारुले बताए।
यस्तै मोर्चाले थरुहट तराईका भुगोल बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने षड्यन्त्र भइरहेको भन्दै त्यस्तो कार्य किमार्थ स्वीकार्य नहुने मोर्चाले स्पष्ट पारेको छ।



























