
– विनोद अनुज
सबैभन्दा पहिला त क्यूएफएक्स जलमाले चलचित्र हेर्नुको मजामा ‘किरिङ किरिङ’ लगाइदियो। हल-२ को साउन्ड सिस्टम बिग्रिएछ। मेरो ९ वर्षमा पाइला राखेको छोराले समेत “बिग्रिएपछि फिलिम किन चलाको त” भन्ने प्रश्न गर्यो। “शहरमा अर्को मल्टिप्लेक्स आइसक्यो। यसलाई चाँडै नसुधार्ने हो भने व्यापार भड्किन सक्छ भन्ने विषयमा सचेत बन्नुहोस्” – हल प्रशासनलाई सुझाव।
त्योभन्दा पनि पहिला चलचित्र माथि रिभ्यू लेखनमा यो मेरो पहिलो प्रयास हो। (अरू विषयमा लेखेको छु र!?) लेख्दै जाँदा आफ्नो बारेमा पो रिभ्यू लेखेको हो कि भन्ने प्रभाव पर्ने प्रबल सम्भावना छ।
***
पहिलेपहिले फिल्म हेरेर रुनेहरू देख्दा हाँसो उठ्थ्यो। जति उमेर बढ्दै गइरहेको छ, फिल्म हेरेर त्यति नै आँसु आउन थालेको छ। छोरालाई अर्थ्याउँदै हेर्दै गरेकोले जति हृदयले मागेको थियो, आँखाले त्यति आँसु दिएन। यही सिलसिलामा सायद चलचित्रका केही महत्त्वपूर्ण कुराहरू छुटे कि!? हलको सबैभन्दा पहिलो ‘रो’को छेउमा एकजना दाजु रहेछन्। पहिलोपटक देखेको व्यक्तिले उनलाई ‘झपल्टे’ नाम दिन सक्छन् मनमनै। (मैले पनि दिएँ कि!)। उनको हुलियाले उनीभित्र संवेदना होला भनेर नचिनेको मान्छेले भन्दैन। (मैले पनि भनिनँ कि!) हलबाट बाहिरिने क्रममा उनलाई आसनमा नै देखें। ‘सुँक्क’ आवाज आएको थियो। आँखा पुछिरहेका थिए।
मतलब – “चलचित्र सफल भयो” भनेर मैले ‘रिभ्यू’ लेख्न शुरू गरेँ।
‘धर्मा’ र ‘चपली हाइट’ (पहिलो)बाहेक दीपेन्द्र के. खनालका सबै चलचित्र हेरेको छु। ‘भिजिलान्ते’ र ‘झोले’ हेर्दा निर्देशकलाई ध्यान पुर्याइएको थिएन। ‘पशुपतिप्रसाद’ हेरिसकेपछि उनका ती फिल्म हेर्दा किन ध्यान पुर्याएनछु भन्ने सामान्य किसिमको ‘थक्क-थक्क’ लागेको हो। चपली हाइटको दोस्रो संस्करणलाई खास मन पारिनँ। ‘लभ लभ लभ’का केही त्रुटिहरूको विषयमा एउटा फेसबुक स्टाटससम्म चाहिँ लेखेको थिएँ। आज पहिलो रिभ्यू तिनैले निर्देशन गरेको चलचित्र ‘आमा’ को लेख्दैछु। मेरा त्रुटिहरूमाथि अरू कसैले बोलिदिनुहोला भन्न चाहन्छु।
नाम:
‘आमा’ हृदयमा सबैभन्दा बढी संवेदना पैदा गर्ने शब्द हो। जीवनको पहिलो उच्चारण, पहिलो शब्द र पहिलो कविता (अधिकांशको) को शीर्षक यही शब्द हुन्छ। जीवनमा अत्यधिक दोहोरिइरहने र अत्यधिक संवेदना पैदा गर्ने शब्द हो। तर फिल्म हेर्न जानेहरूले सधैँ नयाँ कुराहरू खोजी गरिरहन्छन्। कुनैपनि फिल्मको एउटा सानो मात्र अंश पनि पुरानो खालको भेटियो भने दर्शकले आलोचना गरेको मैले धेरै सुनेको छु।
त्यसमाथि वि.सं. २०२१ मा नै ‘आमा’ नामको पहिलो सिनेमा बनेर नेपाली सिनेमाले आफ्नो यात्रा शुरु गरेको हो। (वि.सं. २००८ मा बनेको ‘सत्य हरिशचन्द्र’ होला नि भन्ने जिज्ञासा आएको छ भने भन्न चाहन्छु, त्यो नेपाली भाषाको पहिलो सिनेमा भएको तर भारतको कोलकाताबाट निर्माण भएको भनेर चलचित्र विकास बोर्डको वेवसाइट www.film.gov.np मा लेखिएको छ।) तर ‘आमा’ शब्द कहिल्यै पुरानो नहुने भएकोले होला यो नाममा त्यसपछि पनि थुप्रै चलचित्रहरू बने। निर्देशक खनालले पनि यो नाममा फेरि पनि फिल्म चल्छ भन्ने विश्वास बनाएर राखेका रहेछन्। खुशी लाग्यो। फिल्म चल्यो। सफल भएर चल्यो। रिलिज भएको दोस्रो हप्ताको दोस्रो दिन फिल्म हेरियो। हल भरिन थोरै मात्र बाँकी थियो।
खैर, अगाडि बढौं। कथा चार प्रकारका आमाको कथा वरिपरि बनेको छ। छोरा जन्माएर, हुर्काएर, बढाएर, पढाएर विदेश पठाएकी आमा (मुख्य आमा – मिथिला शर्मा), भर्खर आमा बनेर छोरालाई छुनसम्म पनि नपाएकी आमा (अस्पतालमा संयोगले भेटिएकी आमा– सरिता गिरी), छोरा (कुनै पनि सन्तान) जन्माउन नसकेकी आमा (मुख्य आमाकी छोरी, परदेशी छोराकी बहिनी– सुरक्षा पन्त) र छोरा जन्माउँदैमा बुढेशकालको सहारा बन्न नसकेको आफ्नै छोराको वास्तविकता बिर्सिएर छोरा पाउनको लागि करकर गरिरहने आमा (छोरीकी बुढी सासु– लक्ष्मी भुषाल)।
यी बाहेक अस्पतालमा आमा बन्ने अन्तिम क्षण पर्खिरहेका आमाहरू पनि देखिन्छन्। तिनले कथा र पात्रको संवेदनालाई उच्च बनाउन मद्दत गर्छन्। यी फरक आमाहरूको कथाको कारणले चलचित्रको नाम सार्थक बनेको छ। आमाहरूको संवेदना, अवस्था, पीडा, बलिदान, प्रतीक्षा, सपनाहरूलाई कथाले बोकेको छ। तर मेरो तर्कले यो चलचित्रको नाम ‘छोरा’ बढी सुहाउँथ्यो। (यो सुझाव वा प्रतिकृया होइन। केवल मेरो कुरा हो।) आमाहरूको संवेदनामा कथा बगेको भए पनि छोराहरूको औचित्य दर्शाउनु कथाको उद्देश्य हो भन्ने मलाई लाग्यो। किनभने पूरै कथा बुबाको उपचारमा उभिएको छ। छोराहरूमाथिको आशा र उनीहरूको भूमिकाको महत्व देखाउनमा मेहनत गरिएको छ। उनीहरूमाथिको सपना, चाहना र भरोसा झल्काउन खोजिएको छ। छोराले नगरे छोरीले पनि आफ्ना आमा-बुबाको कृया गर्न सक्छन् भन्ने पनि देखाइएको छ। मिथिला शर्माको भूमिका आमाको भन्दा पनि बढी श्रीमतीको छ, जो आफ्नो श्रीमानको उपचारमा केन्द्रित छिन्। मिथिला शर्माको अभिनयको आवश्यकता टड्कारो भएको कारणले होला, नत्र बुबाको ठाउँमा आमाको दुर्घटना भएको र छोरा र आमाको बीचमा बुबाको भूमिका देखिएको भए चलचित्रको नाम ‘आमा’ अझ बलियो बन्ने थियो भन्ने लाग्यो (फेरी पनि यो सुझाव होइन भन्न चाहन्छु)। अँ! सुरक्षा पन्तको मुखबाट भनाइएको फिल्मको सबैभन्दा राम्रो ‘डाएलग’ – “म पहिले सन्तान हुन्छु, अनि आमा”ले शीर्षकलाई बलियो बनाएको छ।
कथा:
शीर्षक आमा हो। तर कथाले वर्तमान नेपाली समाजको दर्पणको काम गरेको छ। राजनैतिक कुराहरूलाई कत्ति पनि नछोइकन फिल्म सकिन्छ। राजनीति नभएको मान्छे नै हुँदैन भनेर केही साहित्यकारहरू ठोकुवा गर्छन्। नेपाली समाजको चित्रण गरेर यति सशक्त र सफल चलचित्र बनाउँदै गर्दा राजनीतिलाई कत्ति पनि नछुन पनि सकिन्छ (मेरो नजर चुकेको भए मलाई सच्याइदिनुहोला है!) भन्ने कुरा जान्नको लागि म वहाँहरूलाई, यदि नहेरेको भए, यो चलचित्र हेर्न अनुरोध गर्छु। यहाँसम्म कि १२ लाख भन्दा बढी रकम बुझाउन बाँकी भएको र सो नतिरेसम्म लास बुझ्नसमेत नपाइने अवस्था भएपछि कुनै राजनैतिक सम्पर्क बनाएर केही छुट मिलाउन सकिन्छ कि भन्ने विषयमा पनि चासो राखिएको छैन। हाम्रो देशमा राजनीतिलाई व्यक्तिगत स्वार्थ पूर्तिको लागि नै त हो प्रयोग गरिने। यो फिल्मले त्यसमा समेत चासो दिएको छैन।
केही समय पहिले एउटा सेर लेखेको थिएँ।
आउन भ्याएनौ दियो बाल्न जिन्दगीमा,
आइपुग्यौ बत्ती दिन चितामा मलाई
समाजको यस्तै हविगत देखेर यो सेर लेखेको थिएँ। तर फिल्मले योभन्दा पनि परको अवस्थालाई उतारेको छ। शवलाई केही दिन पर्खाएर दागबत्ती दिनसम्म आइपुग्ने गरेको धेरै देखेको छु समाजमा। तर यस फिल्ममा त निर्देशकले छोरालाई त्यत्तिको लागि पनि देश आउने परिस्थिती सिर्जना गरेनन्। छोराको अवस्था पनि त त्यस्तै थियो नि। महिनौं लगाएर पैदल यात्राबाट बल्लबल्ल अमेरिका पुगेको छोरो, कागज बनाउने प्रक्रियामा छ। लाखौं पैसा ऋण छ। जाने बेलामा बाटोमै अलपत्र पर्दा दलाललाई बुझाउन बा’को सन्चयकोष समेत रित्याइएको छ। उहीँ पनि मागेर बा’को उपचारको लागि लाखौं पठाइसकियो। कागज नबनाइ नेपाल आइयो भने फर्केर अमेरिका जाने कुरा त झुक्किएर सपनामा पनि आउँदैन। बा’ भन्ने त एकदिन जसरी पनि मर्ने नै हुन् नि। आज नमरे भोलि त पक्का नै मर्छन्। अमेरिका त फेरि जान पाइँदैन नि। पैसा कमाउने अरू बाटो पनि त भेटिन्न नि। फेरि कोही नभएको पनि त होइन। छोरी पनि त तिनै बा’को सन्तान त हो नि। ठीक छ। छोराको परिस्थिती अनुसार ठीक छ। छोरालाई उतै अमेरिका अल्झिन पारेर लेखक/निर्देशकले ठीक गरेका हुन्। यो पनि समाजमा घटेकै घटना हो।
आमाले गरेको अन्तिम फोनमा आफू आउन नसक्ने बताइरहँदा छोरालाई रुवाइएको र छोराको मुखबाट ‘भगवान सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसैले आमा बनाए’ भनाइएको यो वाक्य पनि ठीक छ। यो वाक्यले छोराहरू रहरले विदेशमा अल्झिन्नन्। परिस्थितीले उनीहरूलाई बाँधेर राखेको हुन्छ भन्ने देखाइएको छ। यहाँनेर कथाले मागेको नभई निर्देशकले चतुर्याइँ गरेको लाग्छ मलाई। यो नभनाइएको भए छोराहरुको विवशता झल्किन्थेन र परदेशी छोराहरूबाट खुब गाली खान पर्ने हुन सक्थ्यो लेखक/ निर्देशकले। (यो रिभ्यू प्रकाशित भैसकेपछि मैले पनि विदेशबाट खुब गाली पाउनेछु भन्ने डर मानिरहेको छु।) परदेशमा छोराहरू वास्तवमै विवश छन्। फेरि यदि छोरा अमेरिका नगएको भए उपचारमा लागेको त्यत्रो धेरै पैसा कसरी जोहो हुन सक्थ्यो? नेपालमा नै भएको भए त बुबाको त्यति उपचार पनि त हुन नसक्ने रहेछ नि आर्थिक कारणले। आखिर परिवारको भविष्यको चिन्ताले नै पुर्याउने त हो परदेश सबैलाई। छोराले सक्दो प्रयास गरेकै त हो उपचारको लागि पैसा पठाउन।
छोरा साथमा नै भएको भए सायद बुबा भर्याङ्गबाट लड्नु पनि पर्थेन कि!
पैसा पठाएरै मात्र पनि त बुबाको उपचार भएन। बुबाको मृत्युको कारक पैसा नपुग्नु थिएन। यो त पछि मात्र थाहा भयो बुबाको पहिले नै ‘ब्रेन डेथ’ भइसकेको रहेछ।
छोराको अनुहार नै नदेखाइ फिल्म सकिनु पनि एउटा रोचक शैली हो। यस्तै एउटा शैली हेरेको थिएँ मैले ‘टिफिन बक्स’ नामको हिन्दी सिनेमामा। तल्लो र माथिल्लो तलामा बस्ने दुई महिलाको कुराकानी सुनाइन्छ। तर माथिल्लो तलामा बस्ने ‘आन्टी’लाई नदेखाइ फिल्म सकिन्छ। यो राम्रो शैली हो।
(जताततै आमाकै कुरामात्र भएकोले ‘आमा’ उपशीर्षक राखिनँ। छोराको बारेमा माथि नै लेखिसकिएकोले यो उपशीर्षक पनि आवश्यक परेन।)
बुबा:
बुबाको भूमिका कमजोर बनेको मानें। छोरीहरूप्रति अगाध माया भएर पनि बुबाहरूले छोराहरूबाट बढी अपेक्षा गर्छन्, हाम्रो समाजमा। आमाको लागि त छोरा वा छोरी दुबै बराबर हुन्। छोराको मुख देख्ने चाहना वर्षौंदेखि पालेका बुबालाई एकपटक मात्रै ढोकामा हेरेर निराश बनेको देखाइएको छ। यसलाई थोरै बढाउन सकिन्थ्यो कि। चलचित्र आमाको संवेदना देखाउनमा बढी केन्द्रित हुनुपर्ने थियो, शीर्षक अनुसार। तर बुबाबिना आमा पनि त अधुरो हुन्छिन्। छोराको मुख देख्ने चाहना आमामा भन्दा बढी बुबामा भएको पनि त दर्शाइएको छ। अनि कथाको प्लट नै बुबाको उपचारमा छोराको भूमिका हो नि। अलिकति त बढाउन सकिन्थ्यो कि बुबाको भूमिका! अलिकति मात्रै! ‘बार्गेनिङ्ग’ गरेको नि निर्देशकसँग।
लेख्नैपर्ने अरू पात्रहरू पनि छन्। लेख लामो बन्ने डरले तिनीहरूको बारेमा मैले धेरै लेखिनँ। सरिता गिरीको अभिनय र भूमिका साह्रै सह्रानीय छ। ज्वाइँको भूमिका आफ्नो ठाउँमा बलियो रूपमा उभिएको छ। ज्वाइँको हजुरआमा (लक्ष्मी भुषाल)लाई सानै छँदा रेडियो नाटकदेखि नै जस्तो भूमिकामा पाइन्थ्यो, त्यस्तै छ, कथानुसार छ, न्यायसंगत छ। फिल्म अबधीभर बुहारीसँग सम्बन्ध राम्रो नभए पनि अन्त्यतिर छोराले दिन नचाहेको पैसाको झोला खोसेर बुहारीलाई दिइएको दृश्य उल्लेख गर्न योग्य छ, सो उल्लेख गरें। अरू नदेखिएका पात्रहरू छन् – ससुरा, देवर, सरिता गिरीका श्रीमान्, ठूलो बुबाका छोरा, लगायत। सबैको भूमिका महत्वपूर्ण छ।
अस्पताल:
अस्पतालहरूको धुर्त्याइँलाई देखाउनु पनि चलचित्रको अर्को उद्देश्य हो। सरकारी अस्पतालमा उपकरणहरू बिग्रिइरहने अवस्थाको चित्रणदेखि निजी अस्पतालहरूले मृत्यु भैसकेको बिरामीलाई उपचार गरेको भन्दै लामो समय अस्पतालमा नै राखेर बील बढाउने गरेको आरोप बेलाबेलामा लाग्ने गरेको कुरालाई चलचित्रले दोस्रो मुख्य मुद्दा बनाएको छ। बिरामी र तिनका आफन्तलाई के थाहा उपचार के हुने हो, कसरी गर्ने हो, के के चाहिने हो, कति खर्च लाग्ने हो। अस्पताल मन्दिर र डाक्टर भगवान हुन् बिरामीका लागि। आफ्नाहरूसँगको हाम्रो गहिरो संवेदना र अस्पतालप्रतिको यही विश्वासको गलत फाइदा उठाउने गरिएको आरोपलाई सटिक ढंगले देखाइएको छ। तर फिल्ममा देखाइएको “काष्ठमण्डप मेडिकल कलेज…………..” नामले चाहिँ मेरो ध्यान तान्यो। मनमा संशय पैदा भयो – “यही नामको अस्पताल साँच्चिकै छ भने त यसले दर्शकलाई यो अस्पतालप्रति नै नकारात्मक धारणा पैदा गरिदिएर यसको भविष्यको व्यापारमा धक्का लाग्ने त होइन?” घर फर्किएर गुगल गरेँ। “काष्ठमण्डप हेल्थ केयर सेन्टर” फेला पर्यो ठ्याक्कै यही नाम भेटिएन। भेटिएको नाम भएको अस्पताललाई यसले असर नगरोस्।
परमेश्वरका दूत:
परमेश्वरका दूतहरूको कथा जोड्न पनि भ्याएछन्, लेखक/निर्देशकले। पछिल्लो समय उपचारको नाममा धर्म परिवर्तन गराउन हिंड्ने गरेकाहरूको विषयमा पनि चर्चा चल्ने गरेको छ। विभिन्न समारोहहरूमा यसो भनिएको/गरिएको सामाजिक सञ्जालहरूमा भिडियोसमेत हेर्न पाइएको थियो। तर अस्पतालमा ‘फूल टाइम ड्यूटी’ गरेरै पनि च्याँखे थाप्ने गरिएको बारेमा जानकार थिइनँ। यसमा त्यो पनि देखियो। पश्चिमीहरू व्यापारमा माहिर हुन्छन्। तिनले मृत्युमाथि पनि व्यापार गर्छन्। चिहानको डिजाइनमा ठूलो धनराशीको व्यापार हुने गरेको छ भन्ने मैले धेरै ठाउँमा पढेको/ सुनेको/ हेरेको छु। यहाँ पनि ती दूतले मृत्युमा पनि च्याँखे थापे। पैसा नपुगेर शव लैजान नपाएको देखेर उनीहरूको संस्कृतिअनुसार अन्तिम संस्कार गर्ने हो भने बाँकी पैसा उनीहरूको संस्थाले तिरिदिन सक्छ भन्नेसम्मको ‘अफर’ गर्न भ्याएका ती दूतलाई मिथिला शर्माले एउटा गालामा थप्पड हान्छिन्। मैले सुरक्षा पन्तको थप्पड उसको अर्को गालामा पर्खिरहेको थिएँ, उनले गाली मात्रै गरेर पठाइन्। चलचित्रलाई सबल बनाउन यस्ता सानासाना कुराहरूको अहम् भूमिका हुन्छ। निर्देशक सफल छन् यो कुरामा पनि।
बाँकी सबै पात्रहरूको भूमिका सटिक र सशक्त छ। यहाँसम्म कि अस्पतालमा झल्याकझुलुक देखिने लगभग सबै पात्रले कथालाई ‘सपोर्ट’ गरेका छन्। बरू मैले कहीँकतैबाट सम्बन्ध नदेखेको चाहिँ पूरै फिल्मभर परिरहने पानीको हो। मेरो छोरालाई समेत झिंझो लाग्ने गरी फिल्मभर पानी परिरहन्छ, जसको टाढाटाढासम्म सम्बन्ध देख्दिनँ। वर्षाकै कारणले बुबालाई काठमाडौं ल्याइपुर्याउन ढिला भएको देखाउन खोजेको हो भन्ने पनि देखाइएको छैन। कथामा कतै असर गरेको छैन पानीले। अँ उपचार क्रममा थोरै असहजता पैदा गरेको छ। तर पूरै फिल्मभर??
प्रविधि:
निर्देशकको एउटा कुरा चाहिँ मैले बुझ्नै सकिनँ। प्राविधिक पक्षलाई किन हेलचक्र्याइँ गरेको होला!? तुलसी घिमिरे जस्तो पुरानो निर्देशकले त दर्पण छायाँको दोस्रो संस्करण बनाउँदा नयाँ ‘टेक्नोलोजी’को प्रयोग गरे (यद्दपी चलचित्रका नायक नायिका नै आएको दिनमा पनि नारायणगढको हल पूरै खाली थियो) भने नयाँ टेक्नोलिजीसँग जानकार मात्र नभई प्रयोग पनि गरिसकेका दीपेन्द्र के. खनालले किन यो सिनेमालाई सानो स्कृनमा बनाए भन्ने बुझिनँ। स्कृन साइजको बारेमा धेरै बोल्न त म सक्दिनँ। तर ‘टेक्निकल्ली’ नयाँ युगमा प्रवेश गरिसकेको नेपाली फिल्मलाई आधा स्कृनमा हेर्दा मजा कम भयो। 8K प्रविधि भित्र्याइसकेको डिएस डिजिटलको ब्यानरमा बनेको फिल्मले पनि यसो नगरेको भए हुने थियो। डिजिटल पार्टनर बुढासुब्बा पनि प्राविधिकरूपमा सक्षम संस्था नै हो। के फिल्मको बजेट कम गर्नको लागि यसो गरिएको हो? के निर्देशक/निर्मातालाई फिल्म नचल्ला कि भन्ने द्विविधा थियो? यसको कारणले गर्दा फिल्म हेर्न जानेले ‘नयाँ फिल्म हेर्दैछु’ भन्ने अनुभव लिन पाउँदैनन्।
अभिनय:
यो विषयमा कमेन्ट गर्नुपर्ने खासै ठाउँ छैन। मिथिला शर्मा जस्तो माझिएको कलाकारको अभिनयलाई दियो देखाउन सक्दिनँ। सुरक्षा पन्तको कलाकारिता नयाँ नभए पनि त्यति पुरानो पनि होइन। जम्मा पाँच वर्ष त भएछ उनको अभिनय यात्रा। तर यो पाँच वर्षमा पहिलो फिल्म ‘अझै पनि’ बाट यहाँसम्म आउँदा उनीमा यति परिपक्वता आएको छ कि अब उनी एउटा इन्जिनियर हुन् भन्ने करा ‘पनि’ भइसकेको छ। पुराना कलाकारकोभन्दा कत्ति पनि कम छैन, त्यति सशक्त अभिनय छ उनको। उनको अभिनयले कथालाई न्याय गरेको छ, जीवन्त बनाएको छ। जति कथाले मागेको छ, न त्यो भन्दा कम दिएकी छन् उनले, न आवश्यकताभन्दा ज्यादा। तर तपाइँ सुरक्षा पन्तको मुस्कानको फ्यान हो भने फिल्म हेर्दा तपाइँ निराश हुनुपर्छ। फिल्मभरी नै उनको मुहार निराशा, बेचैनी र आक्रामकताले भरिएको छ, एउटा दृश्य बाहेक। त्यो पनि आँखा झिमिक्क गर्दा ‘मिस’ हुने जति। आमा बन्न सकिने सकारात्मक नतिजा डाक्टरको मुखबाट सुनेको बेलामा एकपटक उनको मुहारमा हलुका मुस्कान देखिन्छ। यत्तिमै भए पनि मैले चाहिँ बडो मजा मानें। मेरो नजर नचुकेको भए योभन्दा बाहेक चलचित्रभर उनको मुहारमा मुस्कान देख्न पाइँदैन। चलचित्र निर्माणकै दौरानमा मैले एकपटक एउटा सार्वजनिक कार्यक्रममा उनलाई देखेको थिएँ। फिल्मकै लागि उनले आफ्नो कपाल फालेकी रहिछन्। उनको कपाल ‘रिकभर’ हुँदैछ। छिट्टै लामो कपालमा देख्न पाइयोस् कामना गर्छु।
अब सक्नुपर्छ कि!?
ए! ए! ए! एउटा कुरा। निर्देशकले खास कारण केही सोचेको भए त्यो मैले बुझिनँ। तर मलाई ‘यो नगरेको भए हुन्थ्यो’ जस्तो लाग्यो। अस्पताललाई बुझाउनुपर्ने बाँकी रकम १२ लाख ३४ (३७ हो कि!?) हजार नौ सय असी रुपैयाँबाट ठ्याक्कै ६ लाख (यसमा कत्ति पनि रकम तल माथि छैन) घटाएर बाँकी कति रह्यो भन्ने हिसाब निकाल्नको लागि सुरक्षालाई क्यालकुलेटरको प्रयोग गर्न लगाइएको छ। यो त सामान्य हिसाब हो नि! त्यसमाथि सुरक्षा त शिक्षिका हुन् कथानुसार। जरूरी हुन्थ्यो र!? फेरि क्यालकुलेटर नै प्रयोग गरेर हिसाब निकालिसकेपछि अस्पतालको काउन्टरमा त्यति नै रकम बुझाएर “अब कति बाँकी रह्यो” भन्ने प्रश्न गर्छिन्। मलाई यहाँनेर कुरा ‘सिंक्रोनाइज’ भएजस्तो लागेन। यस्तो अवस्था खासगरी हतास मानसिकताको उपज हुन्छन्। हतास भएको बेला मान्छेले सानोसानो कुरा पनि चाल पाउँदैनन्। टाउकोमा भएको चश्मा, घाँटीमा झुण्डिएको टाई, हातमा खेलाइरहेको कलम खोज्ने गरे जस्तो। तर दृश्यानुसार सुरक्षा हतास छैनन्, चिन्तित छन्।
तर यति राम्रो, सबल र सफल सिनेमा बनिसकेपछि यि सानासाना त्रुटिजस्ता लाग्ने कुराहरूमा चर्चा नगरेको भए पनि हुनेथियो। तर एकोहोरो तारिफ मात्र गरिरहँदा समीक्षा अपाङ्ग बन्छ कि भनेर मात्रै एकाध कुरा लेखियो। निर्देशकले यसलाई स्वाभाविक रूपमा लिनुहुनेछ भन्ने ठानेको छु।
अब मेरो व्यक्तिगत कुरा:
सानैदेखि यस्तैखाले सिनेमाहरू हेरियो। गीत सुनियो। कथा पढियो। विद्यालयमा पढ्ने बेला पनि यस्ता कुराहरूमा धेरै जोड दिइयो। मलाई देशमै अल्झाएर राख्नमा यस्तैयस्तै कुराको पनि ठूलो योगदान छ। त्यसैले मेरा आदरणीय आफन्तहरू, तपाइँहरूको मलाई “विदेश गइदिए हुन्थ्यो” भन्ने चाहना नटेर्नको लागि दीपेन्द्र के. खनालजस्ता निर्देशक, लेखक, कथाकार, गीतकार, गायकहरूको ठूलो भूमिका छ। आउनुस् मिलेर उनीहरूको बिरुद्धमा आवाज उठाउँ। उनीहरूलाई मुद्दा हालिदिउँ।


























