काठमाडौं, फागुन १८ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सहमत भएका छन्।
गत बुधबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम नै प्रधानमन्त्री ओली फागुन २० पछि रिक्त हुने एक राष्ट्रिय सभा सदस्यमा गौतमलाई सरकारका तर्फबाट सिफारिस गर्न तयार भएका हुन्।
आइतबार बस्नै मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्ने वालुवाटार स्रोतले जनाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सो पदमा हाल अर्थमन्त्री समेत रहेका युवराज खतिवडा छन्। खतिवडाको २ बर्षे कार्यकाल फागुन २० गते सकिँदैछ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि खतिवडा हाल सूचना तथा सञ्चार प्रविधि मन्त्री र सरकारको प्रवक्ताको समेत जिम्मेवारीमा छन्।
यसअघि ओली गौतमलाई खतिवडाको स्थानमा राष्ट्रिय सभामा पठाउने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्ट रहँदै आएका थिए। तर, आइतबारको सचिवालय बैठकमा भने ओली गौतमप्रति नरम भएका हुन्।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आइतबारको सचिवालय बैठकमा गौतमको नाममा कुनै असहमति नजनाएको स्थायी समिति सदस्य तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।
‘आइतबारको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल नै भएन। किनभने यसअघि नै निर्णय भैसकेको थियो। त्यो निर्णयबाट कोही पनि यताउता गर्ने अवस्था नै छैन’, खनालले भने, ‘सर्वसम्मत निर्णय भएको विषयमा छलफल गर्न जरुरी नै थिएन।’

























