धनगढी, फागुन १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो आन्तरिक विवादले पार्टी फुट्न लागेको हो कि भन्ने अनुमान चलिरहेका बेला नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुट्ला कि भनेर चिन्ता नलिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा सुदूरपश्चिम इञ्चार्ज समेत रहेका नेता रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताए। धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताएका छन्।
उनले कार्यकर्ताले निरास हुनुभन्दा ठीक बेठीक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दैै विधान र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिए। एक अर्को प्रसंगमा नेता रावलले एमसीसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे।
उनले एमसीसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले गठन गरेको कार्यदलको सुझावपछि पार्टीले आधिकारिक धारणा बनाउन थालेको र सो धारणा केही दिनभित्रै आउने बताए।
उनले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए। केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ।


























