काठमाडौं, फागुन १३ । ‘नेपाल भ्रमण वर्ष-२०२०’ को उपलक्ष्यमा आयोजित ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई अन्तर्राष्ट्रियकरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए)ले वि विल राइज फाउण्डेशनसँग सहकार्य गर्ने भएको छ। संघको सचिवालय, बालुवाटारमा आयोजित विशेष समारोहमा दुई संस्थाबीच आधिकारिकरुपमा सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
‘नेपालीका लागि नेपाली’ भन्ने भावनाका साथ विश्वका ८० भन्दा बढी मुलुकमा सक्रिय एनआरएनएको यो सहकार्य, नयाँ कार्यसमितिको गठन पश्चात् एनआरएनएको व्यापार, उद्योग तथा नेपाल प्रवर्द्धन विभागकै पहिलो कार्यका रुपमा अघि बढाएका संघका उपाध्यक्ष एवम् व्यापार, उद्योग तथा नेपाल प्रवर्द्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए। ‘यसले पक्कै पनि ओझेलमा परेका तर प्रचुर पर्यटन सम्भावना बोकेका हाम्रो गाउँठाउँलाई विश्वव्यापीरुपमा चिनाउन तथा दीर्घकालीनरुपमा सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्नेछ,’ उनले भने।
राष्ट्रको अर्थतन्त्र बलियाे बनाउने प्रमुख माध्यम भनेकै पर्यटन क्षेत्र भएकाेले प्रभावकारी पर्यटनका निम्ति पूर्वाधार विकास नै पहिलो मापदण्ड भएकाे उनकाे भनाइ छ। तर, पूर्वाधार विकास गर्न पनि पहिले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका गाउँठाउँको पहिचान गर्नु महत्त्वपूर्ण हुने उनले बताए। ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज त्यस्ता गाउँठाउँ, त्यहाँको विशेषता र अवस्था पहिचान गर्ने अभियान हो,’ उनले भने, ‘यसले अभियानलाई राष्ट्रिय स्तरबाट उत्थान गरी अन्तर्राष्ट्रियकरण गर्नेछ। साथै विजेता भिडियोहरुले अन्तर्राष्ट्रिय डबलीमा प्रदर्शनी गर्ने अवसर पनि पाउनेछन् भन्ने विश्वास छ।’
वि विल राइज फाउण्डेशनका संस्थापक अध्यक्ष तथा अभियानका संयोजक निर्मल श्रेष्ठले आफ्नो गाउँठाउँलाई प्रवर्द्धन गर्ने दायित्व सबैभन्दा पहिले ‘आफ्नै हो’ भन्ने भावना जगाइदिने प्रयाससँगै आफूमा निहीत प्रतिभा प्रस्फुटन गर्ने अवसरका रुपमा लिएका बताए। ‘ओझेलमा परेका गाउँठाउँको पहिचान, प्रचार मात्र होइन प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा स्थानीय युवाजमातमा उद्यमशील सोचको बीजारोपण पनि गर्छ,’ उनले भने, ‘यस्तै सोच र कार्यले नै सिर्जनशील उद्यमीहरुको जन्म हुने हो, व्यापार व्यवसायमा युवा आकर्षित बन्ने हो र नेपालले आर्थिक समृद्धिको बाटो तय गर्ने हो।’

एनआरएनएको व्यापार, उद्योग र नेपाल प्रवर्द्धन विभागको उद्देश्यलाई यस भिडियो च्यालेन्जले अझ थप उजागर गर्ने हुँदा सहकार्य गरेका उनले बताए। समारोहमा फाउण्डेशनका तर्फबाट परिचालन निर्देशक तथा नाडाका सचिव अनुप बराल, सदस्यहरु राष्ट्रिय फुटबल टिमका प्रशिक्षक तथा पूर्वकप्तान राजु काजी शाक्य र पत्रकार आरोही तथा कलाकार रोजिता बुद्धाचार्य एवम् सद्भावना राजदूत सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा साथै एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अध्यक्ष डा. हेमन्त दवाडी र एनआरएनए–हङकङका अध्यक्ष राधिका गुरुङ तथा महासचिव गोकर्ण ढकालको उपस्थिती थियो।
गतवर्ष आयोजित यसै प्रतियोगितामा सातै प्रदेशबाट उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु प्राप्त भएका थिए। उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित थियो। यसपटक गण्डकी प्रदेश र गैरआवासिय नेपाल संघले समेत यस अभियानमा सह–आयोजकका रुपमा सहकार्य गर्दैछ।
यसवर्ष सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ। सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी (१९२०×१०८०) पिक्सेलको र समय अधिकतम ५ मिनेटको हुनुपर्ने छ।
प्रतियोगीहरुले फाउण्डेसनको वेबसाइटमा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन्। निर्णायक मण्डलले आएका भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन्। छनौटमा परेका १० उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कार वितरण गरिनेछ।


























