चितवन ,फागुन १५। जिल्लामा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिकको रुट निर्धारण गरिएको छ। बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५८३ म्याजिकलाई १२ रुटको अनुमति दिइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका र म्याजिक यातायात व्यवसायीको साझा संस्था संयुक्त यातायात व्यवसायी समितिसँग समन्वय गरेर रुट इजाजत प्रदान गरेको हो। बिहिबार आयोजित रुट नम्बर वितरण कार्यक्रममा भरतपुर चक्रपथमा २५०, शारदानगरतर्फ ९२, गीतानगरतर्फ ७१, विजयनगरतर्फ २९, गौरीगञ्जतर्फ ४३, गोन्द्राङतर्फ ५३, भोजाडतर्फ १४, खोलेसिमलका लागि १८, गैँडाकोटका लागि ४४, मुग्लिनका लागि २०, पर्साका लागि ३० र देवघाटका लागि १० म्याजिकलाई सञ्चालनका लागि अनुमति दिइएको छ।
यसअघि इजाजत दिँदा जिल्ला र अञ्चलभरिनै सञ्चालन गर्न पाउने सुविधा दिएपछि सबैको ध्यान बजार क्षेत्र हुने गरेको थियो। बजार अस्तव्यस्त बनेको र ग्रामीण क्षेत्रमा यात्रुले सवारी पाउन मुस्किल भएपछि स्थानीयस्तरको आवश्यकतालाई ध्यानमा राखेर सङ्ख्या निर्धारण गरिएको भट्टले जानकारी दिए।
रुट नम्बर पाएका सवारीसाधनलाई एक साताभित्र सञ्चालन हुने क्षेत्रको नाम लेखेर अगाडि राख्न आग्रह गरिएको छ । जिल्लामा ६७४ म्याजिक दर्ता छन्। रुट नपाएकाको कागजपत्र हेरेर आवश्यकता महसुस भएका क्षेत्रमा थप गरिने उनले जानकारी दिए। रासस


























