धरान, फागुन १४ । धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र भारतको युके एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
धरान रंगशालामा हुने मनाङ र युकेबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छ। उपाधि दाबेदार मनाङले क्वाटरफाइनलमा मोरङको बेलबारी फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो।
भारतीय टोलीले भने आयोजक धरान फुटबल क्लबलाई हराएको थियो। मनाङ र युके एफसीबीचको विजेताले फाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन्।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन्।

























