काठमाडौं, फागुन ४ । बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिना पछि सरेको छ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वब्यापी रुपमा फैलदै गएपछि आयोजक बंगलादेश भलिबल फेडेरसनले चैतमा तय भएको प्रतियोगिता ६ महिना सारेको हो।
बंगलादेशले कोरोना भाइरस मुख्य कारण देखाएर सहभागी राष्ट्रलाई पत्राचार गर्दै प्रतियोगिताको मिति सरेको जनाएको छ। नेपाल भलिबल संघले प्रतियोगिताको मिति सरेको पत्र बंगलादेशबाट प्राप्त भएको जनाएको छ।
अफगानिस्तान र तुर्किमिनिस्तान लगायतका देशमा कोरोना भाईरसको संक्रमण देखिएको छ। जसको कारण बंगलादेशले प्रतियोगिता सारेको हो, मुख्य प्रशिक्षक जगदीश भट्टले भने, अब प्रतियोगिता सेप्टेम्बर ५ बाट हुने भनिएको छ।
६ महिना सरेको प्रतियोगिता भदौ २० देखि २७ गतेसम्म हुनेछ। यस अघि प्रतियोगिता चैत ९ देखि १५ गतेसम्म हुने भनिएको थियो।
च्याम्पियनसिपका लागि नेपालले १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको थियो। संघले १३ औं दक्षिण एसियाली खेलकुदको टिममा रहेका १३ खेलाडी र पाँच खेलाडी बाहिरको राख्दै प्रारम्भिक टोलीको घोषणा गरेको थियो।
यस्तै नेपालले तयारी समेत सुरु गरिसकेको थियो। तर, प्रतियोगिता सर्ने भएपछि नेपालको तयारी समेत स्थगित गर्ने भएको छ। सोमबार बस्ने संघको बैठकले त्यसको निर्णय गर्नेछ।






















