काठमाडौं, फागुन ३ । मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि पहिलो पटक हात पारेको छ। आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो।
शनिबार भएको अन्तिम खेलमा मछिन्द्रसँग पराजित भएपछि आर्मीको उपाधि दौडमा धक्का लागेको छ। आर्मीले मछिन्द्रसँग बराबरी खेलेको भए पनि उपाधि जित्ने थियो। आत्मघाती गोलका कारण आर्मी उपाधि गुमाउन बाध्य बनेको हो।
खेलको ३३ औं मिनेटमा मछिन्द्रका लागि रञ्जित धिमालले प्रहार गरेको फ्री किक बचाउने क्रममा आर्मीका विकास तामाङबाट आत्मघाती गोल भएको थियो। गोल हुन नदिन प्रयास गर्दा आर्मीका गोलकिपर बिकेस कुथू पोलमा ठोकिएर घाइते भई मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा विवश चौधरी मैदानमा ओर्लिएका थिए।
यो जितसँगै मच्छिन्द्रले १३ खेलबाट १० खेलमा जित, २ बराबरी र १हार व्यहोर्दै ३१ अंक बनाएर लिग जितेको हो। उपविजेता आर्मीले १३ खेलबाट ९ खेलमा जित, २ बराबरी र २ खेलमा हार व्यहोरेर २९ अंक बनायो।


























