काठमाडौं, माघ २६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका छन्।
आइतबार राजधानीमा आयोजित सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका हुन।
अहिले जलवायु परिवर्तनको चपेटामा मुलुक परेको भन्दै उनले डोजरको बारेमा पनि कार्यक्रममा छलफल आवश्यक रहेको बताए।
खासगरी विकसित मुलुकहरुका कारण जलवायु परिवर्तनको समस्या उब्जिएको बताउँदै उनले त्यसबाट सिर्जित समस्या नेपालजस्ता कम विकसित देशहरुले भोग्नु परिरहेको बताए। नेपालमा रहेका गगनचुम्बी हिमालहरुले पृथ्वीलाई चिसो बनाउन मद्दत गरिरहे पनि यो पक्षलाई महत्त्व नदिएको उनले बताए।
सगरमाथा संवाद कार्यक्रमले विश्वको ध्यानाकर्षण गराउन सघाउ पुग्ने मन्त्री पोखरेलको विश्वास छ। उनले भने, ‘यस्ता बहस र छलफलको माध्यमबाट विश्वको ध्यान खिच्न सक्ने छ।’
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जलवायु परिवर्तनका विषयमा खोज अध्ययन गर्न कसरी सहभागी गराउने भन्ने विषयमा बहस चलाउन पनि उनले कार्यक्रम आयोजकलाई सुझाव दिए।






















