काठमाण्डौं, माघ २४। प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध गरेको छ।
काँग्रेसले आफ्ना नेता तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै विरोध जनाएको हो। सत्तारुढ दलका आरोपित नेतालाई चोख्याउने र विपक्षी नेताविरुद्ध मुद्दा दायर गरिएको काँग्रेसको आरोप छ।
बैठकको सुरुमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि ललिता निवास जग्गा प्रकरणमा दायर गरिएको मुद्दामा पूर्वाग्रह प्रतिविम्वित भएको बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँले अख्तियारको दुरुपयोग गरेको उनले दावीसमेत गरे ।
उनले भने, ‘उक्त जग्गा प्रकरणमा जुन प्रधानमन्त्रीले त्यो निर्णय गर्नुभयो, उहाँले त्यसलाई उपलब्धिका रुपमा लिनु भएको छ, जुन मुख्यसचिवले त्यो गुरुयोजनाको प्रस्ताव गर्नुभयो, उहाँले यसलाई गौरवमय आयोजना भन्नु भएको छ। जसले योजना सुरु गर्नुभयो, जुन योजनाअनुसार मन्त्रिपरिषदबाट निर्णय भयो, प्रस्ताव पेश गर्ने व्यक्तिले उन्मुक्ति पाउने, उहाँ अत्यन्तै महान व्यक्ति, जसले मन्त्रिपरिषदको अध्यक्षता गरेर निर्णय गर्नुभयो, उहाँ पनि महान व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनु भयो र लालपुर्जा बोकेर हिँड्दै हुनुहुन्छ, उहाँ पनि महान व्यक्ति ?’

























