चितवन, माघ २३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गएको १५ दिनमा नियमविपरित पार्किङ गरेका र सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनबाट कारवाहीस्वरूप करिब साढे तीन लाख रूपैयाँ राजस्व संकलन गरेको छ।
नारायणगढ बजारका मुख्य राजमार्गमा जथाभावी रोकेर राखेका सवारीसाधनलाई चेनलक लगाई कारवाही अभियानलाई अगाडि बढाउने क्रममा १५६ वटा चारपाङ्ग्रे सवारीसाधनबाट दुई लाख ३४ हजार, पाँच वटा तीनपाङ्ग्रे सवारीसाधनबाट पाँच हजार र ९५ वटा मोटरसाइकल तथा स्कुटरबाट ४७ हजार ५०० गरी दुई लाख ८६ हजार पाँचसय रूपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
यस्तै सिट क्षमताभन्दा बढी सवारी बोक्ने स्थानीय ‘रूट’मा चल्ने ५६ वटा सवारीसाधनबाट ४२६ वटा मुडा नियन्त्रणमा लिई कारवाहीस्वरूप ५६ हजार रूपैयाँ जरिवाना संकलन गरिएको उनले बताए। ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकलाई तत्काल कारवाही गर्ने गरी अभियान थालिएको उनको भनाइ छ।
मोटरसाइकलको साइलेन्सर परिवर्तन गर्ने, जथाभावी बत्ती जडान गरेर हिँड्ने सवारीसाधनलाई पनि कारवाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक भट्टले जानकारी दिए।


























