काठमाण्डौं, माघ २३ । आईसीसी विश्वकप लिग २ मा अन्तरगत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलामा ओमानले लगातार दोस्रो जीत हात पारेको छ।
बिहीबार किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
अमेरिकाविरुद्ध ओमानका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए। अक्वि इल्यास र मोहम्मद नादेम अमेरिकाका बलरमाथि हावी भएका थिए।
ओमानका लागि अक्विब इल्यासले अर्धशतकसहित ७२ रन बनाएका थिए। उनले ११० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै, मोहम्मद नादेमले अर्धशतकसहित ५५ रन बनाएका थिए । यस्तै, खबार अलिले ३१ रन र सुरज कुमारले २७ रन बनाएका थिए।
ओमानविरुद्ध रट्री थेरम, नेत्र भल्कार, इआन होल्यान्ड र स्टेभन टेलरले समान एक–एक विकेट लिएका थिए। यसअघि पहिलो ब्याटिङ गरेका अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो।
अमेरिकाका इआन होल्यान्डले अर्धशतकसहित सर्वाधिक रन बनाएका थिए। उनले ७८ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ६५ रन बनाएका थिए।
यस्तै, होमराजले ३ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए। मोनाङ्क पटेलले १९ रन, जेभियर मार्सलले १३ रन बनाए।
अमरिकाविरुद्ध ओमानका मोहम्मद नादेमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने जेसन मक्सुद र अक्विब इआसी र बिलाल खानले समान २–२ विकेट लिए। यस्तै, ओमानका कलिमउल्लाहले एक विकेट लिए।
जीतसँगै ओमानले लिग २ मा अमेरिकासँग १२ अंक बराबरी गरेको छ।
अब शनिबार नेपाल र अमेरिकाबीचको खेल हुनेछ।


























