काठमाण्डौं, माघ २३ । संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ।
७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रालिले जनाएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो। परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो। जलविद्युत परियोजनामा भारतको स्टेट बैंक आफ इण्डिया (एसबिआई)को नेतृत्वमा वित्तीय स्रोत व्यवस्थापन भएको हो।जसमा एसबिआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन्।
त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन्।
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन पुरा नहुँदै निर्माणको काम शुरु भइसकेकाले विश्वास बढेको बताए।
लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विदेशी लगानीमा निर्माण गर्न लागिएको यो परियोजनामा भारत र नेपालका गरी सात वटा बैंकले गर्ने ऋण लगानीको सम्झौता बिहीबार दिउँसो ४ बजे काठमाडौंको होटल याक एण्ड यतीमा हुने बताइएको छ।


























