चितवन, माघ २३ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्न समस्या देखिएपछि अनुसन्धान थालिएको छ। माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो।
प्रजनन केन्द्र हेर्दै आउनुभएका डा.विकल्प कार्कीका अनुसार यस वर्ष १२ वटा गिद्धले फुल पारेका थिए। ती फुलमा गिद्ध ओथारो बसिरहेको छ। फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ तर आधाभन्दा बढीको समय नाघेको भए पनि बच्चा कोरलिएको छैन। त्यहाँ रहेका १९ जोडीमध्ये १५ वटा पोथीले फुल पार्नुपर्नेमा तीन वटाले फुल पारेका छैनन्।
गत वर्ष पनि २० वटा फुलबाट जम्मा दुई वटा बच्चा कोरलिएको थियो। त्यसको अघिल्लो वर्ष विसं २०७४ मा २१ वटा फुलबाट सात वटा बच्चा कोरलिएको थियो भने विसं २०७३ मा १५ वटा फुलबाट नौ वटा बच्चा कोरलिएको थियो। त्यस वर्षलाई गिद्ध संरक्षणको राम्रो उपलब्धि मानिएको थियो।
त्यसअघि विसं २०७१ मा पाँच वटा फुलबाट एउटा बच्चा कोरलिएको थियो भने विसं २०७२ मा सात वटा पुल पारे पनि बच्चा कोरल्न सकेको थिएन। डा. कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुका कारण के हुन सक्छ भनेर विदेशी विज्ञसँगसमेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिए। निकुञ्जका निमित्त प्रमुख वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताए।
यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो। हाल प्रजनन केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन्। तीमध्ये दुई बच्चा, चार भाले र तीन पोथी नवलपरासीको जटायु रेस्टुराँमा प्रकृतिमा छाड्नका लागि लैजाने तयारी गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन्।
स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन केन्द्रमा राखिएको थियो। त्यहीँ हुर्किएका गिद्धमध्ये हालसम्म ३३ वटालाई प्रकृतिमा छाडिएको छ। सन् २०१७ मा सात पोथी र सन् २०१८ मा आठ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको हो। सन् २०१९ मा छ बच्चा, चार पोथी र तीन भाले गरी १३ वटालाई प्रकृतिमा छाडिएको छ। रासस






















