काठमाण्डौं, माघ २३ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै १० विकेट गुमाएर २१३ रन बनाएको हो।
अमेरिकाका लागि इयान हल्यान्डले अर्धशतकीय पारी खेले । हल्याण्डले पाँचै विकेटका लागि अक्ष होमराजसंग ८२ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्स उकासे। ५४ रन हुँदा ४ विकेट गुमाएको अमेरिकाको लागि हल्यान्ड र होमराजले अर्धशतकीय साझेदारी गरे।
इयान अलान्डले ७८ बल खेल्दै ७ चौका मद्दतमा सर्वाधिक ६५ रन बनाए। यस्तै अक्ष होमराजले ४४ रन बनाए। उनले ५३ बल खेल्दै ३ चौका २ छक्का प्रहार गरे।
यस्तै मोनाक पटेल १९, तिमिल पटेलले १६, आरोन जोन्सनले १३ र रस्ती थेरोनले १० रन बनाए। ११ औं नम्बरमा ब्याटिङ गरेका कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ रन बनाए । उनले ९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे।
ओमानका लागि मोहम्मद नदिमले ३ विकेट लिए भने कप्तान जिसन मक्सुद, उपकप्तान अकिब इल्यास र विलाल खानले २-२ विकेट लिए।
८ ओभर बलिङ गरेका नदिमले ४३ रन खर्चेर ३ विकेट लिएका हुन्। कप्तान जिसन मक्सुदले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए। उपकप्तान अकिब इल्यासले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए। यस्तै बिलाल खानले ९ ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए। कलिमुल्लाहले १ विकेट लिए।
ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। सिरिजको पहिलो खेलमा ओमानले घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको थियो।


























