दाङ, माघ २३ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई दाङ देउखुरी जिल्ला अदालतले धरौटीमा छोडे पनि पुनः प्रहरीले नियन्त्रणमा लिएको छ।
रोल्पा इञ्चार्ज रोल्पा नगरपालिका २ का ५८ वर्षीय दलबहादुर खत्री र रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट नगरपालिका ८ का ३१ वर्षीय चन्द्रबहादुर बुढालाई प्रहरीले अदालतमा जनही १५ हजार रुपैयाँ धरौटी तिरेर छुट्ने क्रममा पुनः नियन्त्रणमा लिएको हो।
खत्री र बुढालाई गएको अशोज ३० गते राजपुर गाउँपालिका ४ मुङग्रेठा गाउँबाट पक्राउ गरी राज्यविरुद्धको संगठित अपराधमा मुद्दा चलाएको थियो।
सो क्रममा पक्राउ परेका २१ जना नेताहरुलाई अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि पक्राउ पर्ने भएका कारण कारागार जाने निधो गरेका थिए। त्यसपछि धरौटी बुझाएर निस्कने क्रममा ८ जना पुनः पक्राउ परिसकेका छन्।


























