भक्तपुर , माघ २२। चीनबाट फर्किएका नेपालीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी अन्दोलित भएका छन्।
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले चीनमा रहेका १८० जनालाई निगरानीका लागि उक्त स्थान चयन गरेपछि यस क्षेत्रका स्थानीयवासी आन्दोलित भएका हुन्।
आज स्थानीयहरुले कालो झन्डा र नारा सहित नगरपालिका घेराउ गरी अन्यत्रै सुरक्षित स्थानमा राख्न आग्रहसहितको ज्ञापनपत्र पनि बुझाएका छन्।
आन्दोलनमा सहभागी हुनु भएका प्रदेश सभासद कृष्णलाल कँडेलले चीनबाट फिर्ता आउन लागेका नेपालीहरुलाई निगरानीका लागि मानव बस्ती माझको स्थान चयन गरिनु गलत भएको भन्दै एकान्त एवं सुरक्षित स्थानको चयनसंगै मानववस्तीबाट ३ किलोमिटर टाढा राख्नु पर्ने आग्रह गरे।
सो स्थानमा चीनबाट ल्याइएका नेपाली नागरिकलाइ राख्न कुनै भौतिक पूर्वाधारहरुको तयार नभएता पनि उक्त स्थानको बारेमा प्रधानमन्त्रीको कार्यालयबाट आएका कर्मचारीले भने अवलोकन गरिसकेका छन्।


























