काठमाण्डौं, माघ १६ । जिम गरेर ‘सउना बाथ’ लिने क्रममा एक दम्पत्तिको निसास्सिएर मृत्यु भएको छ।
ललितपुर महानरपालिका–१४ सातदोबाटो विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा जिम गरेर त्यहिँ रहेको सउना बाथ सेन्टरमा पसेका दम्पत्तिको निसास्सिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी परिषर ललितपुरकी एसपी दुर्गा सिंहका अनुसार बुधबार बेलुका जिमपछि सउनाका लागि पसेका ४० वर्षका हस्तबहादुर मगर र उनकी ३७ वर्षे श्रीमती नेत्रकुमारी पुन बाथरुमबाट धेरैबेर हुँदा पनि ननिस्किएपछि जिमका कर्मचारीले हेरेका थिए।
दुवैजना बाथरुममा बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। डाक्टरले बुधबार राति नै उनीहरुको मृत्यु भएको जानकारी दिए।
अहिले दुवैको शव पाटन अस्पतालमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृत्यु भएका हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए।