माघ, १४। झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ।
उनले गमला बनाएर नै घर धानेकी छिन। शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनले गमला मात्रै बनाउछिन।
ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उनीसहित उनका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कन्छन। गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउछिन। सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन्। ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ।
पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ। एउटा गमलाको होलसेल मूल्य रु ३० हो। बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्नुहुन्छ। एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजार गमला बिक्री गर्नुहुन्छ। साताकै रु १५ हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हुने गरेको छ।
त्यसो त माटो खरीदका लागि मासिक रु १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आएकी छन्। “बुबा (बाबुलाल) ले यही काम गरे”, रामेश्वरले भने, “बुबाले गरेको देखेर सिकेको हो यो काम, यही कामले हामीलाई बचाएको छ, चार छोराछोरी हुर्कायौँ, बढायौँ र पढायौँ पनि।”
हिउँदयाममा मात्रै गरिने यो कामसँगै उनीहरु खेती पनि गर्छन। तर, खेतीबाट भन्दा गमला बनाउँदा नै धेरै आम्दानी हुने गरेको रामेश्वरले बताए। “खेती गर्दा कहिले उत्पादन राम्रो दिन्छ, त कहिले उत्पादन दिदैन”, उनले भने, “गमला बनाएपछि नबिक्ला भन्नु पर्दैन, घर बाटै बिक्री हुन्छ। खेतीभन्दा राम्रो आम्दानीको स्रोत हाम्रो गमला बनाउने काम हो।”
त्यसो त पण्डित दम्पती मात्र होइन, त्यस ठाउँमा बसोबास गर्ने झण्डै ३० घरपरिवार यही पेशामा निर्भर छन्। उनीहरुले माटोकै भाँडाकुँडा बनाएर वर्षौदेखि जीवन निर्वाह गर्दै आएका छन्। “हातमा सीप भए जिउन सकिनेरहेछ”, सावित्राले भनिन्, “हामी यहाँ फरक–फरक सामग्री बनाएर बिक्री गर्छौँ, कसैले गमला त कसैले दियो, कसैले खुत्रुके अनि कसैले घैला। यही कामले हामीलाई बचाएको छ।” रासस


























