चितवन, माघ १४ गते । नारायणी नदी किनारमा चलिरहेको कोटिहोम महायज्ञका प्रमुख बाचक बालयोगेश्वर महाराज नामले चिनिँदै आइएका बिजय भण्डारीबारे विवादित समाचार प्रकाशित भएपछि आयोजकले उनलाई प्रमुख वाचकबाट हटाएको छ। तर, आयोजकले भने छलफलकै क्रममा रहेकाले महायज्ञमा सहभागी नगराइएको बताउँदै आएको छ। मंगलबार महायज्ञ परिसरमा पत्रकार सम्मेलन गरेर बालयोगेश्वर महाराजलाई हटाउने वा स्थगन गर्ने भन्ने विषयमा निर्णय आइनसकेको प्रतिक्रिया दिइएको छ।
‘गुरूको विषयमा विवादास्पद समाचार बाहिर आइसकेपछि हामीले उहाँलाई पछि हट्न भनिसकेका छौँ,’ महायज्ञ मूल समारोह समितिका प्रवक्ता दिलीप न्यौपानेले भने। तर, सचारमाध्यमले जथाभावी लेखेर महायज्ञलाई नै विफल पार्ने खेलमा लागेको भन्दै आयोजक भने बालयोगेश्वर महाराजको बचाउमा लागेको छ। ‘गुरूको दोषी हुनुहुन्छ भने उहाँमाथि छानविन हुनुपर्छ र कारवाही हुनुपर्छ,’ उनले भने, ‘तर, उहाँमाथि अनर्गल प्रचार गरेर महायज्ञलाई नै विचलित बनाउन खोजेको देखिन्छ।’
तर, मंगलबार आयोजित पत्रकार सम्मेलनमा बालयोगेश्वर महाराजलाई भने उपस्थित गराइएन। महाराजलाई ‘ठगी’को आरोप छ। महायज्ञको प्रमुख वाचकबाट महाराज हट्ने भएपछि अब प्रमुख वाचकको रूपमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको प्रवक्ता न्यौपानेले बताए। ‘तर, हामीसँगै ४० भन्दा बढी पण्डितहरू हुनुहुन्छ, उहाँहरूले नै कथा वाचन गर्नुहुन्छ,’ उनले भने, ‘त्यसैले महायज्ञ रोकिँदैन।’
सञ्चारमाध्यममा बालयोगेश्वर महाराजको व्यक्तिगत विषयमा समाचार आए पनि महायज्ञ र आयोजक विरूद्ध समाचार नआए पनि आयोजक समिति भने पत्रकार र सञ्चारमाध्यमसँग आक्रोशित बनेको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्दा ‘अनर्गल’ प्रचार गरेर धर्ममाथि नै प्रहार गरेको उनले आरोप लगाए।
माघ ११ गतेदेखि फागुन ११ गतेसम्म चल्ने महायज्ञमा पहिलो र दोस्रो दिन बालयोगेश्वर महाराजले कथा वाचन गरे पनि तेस्रो दिनबाट भने महायज्ञमा सहभागी छैनन्। सामाजिक सञ्जालमा भने बालयोगेश्वर महाराज ‘फरार’ भएका विषयमा प्रतिक्रिया आउन थालेका छन्। तर, आयोजकले भने ठगी आरोप लागेका महाराज सम्पर्कमै रहेको बताएको छ।
भरतपुर २३ मा रहेको पशुपति मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, क्यान्सरका बिरामीलाई सहयोग गर्नेलगायतका विषयलाई प्रमुख उद्द्श्य बनाएर १०८ कुण्डीय महायज्ञ आयोजना गरिएको हो।