माघ १३ । ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ। वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ।
ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन्। तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ।’
डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन्। उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन्।
यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन्। लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।
ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन्। डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन्।
राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।
यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन्।
ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ। जहाँ अन्तर्राष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ।
ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो।
क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भनिरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन्। एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो।
ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ। यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन्।
१५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भनिरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन्।
लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन्। लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भनिरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ।
ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ। क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ। एजेन्सी


























