कास्की, माघ ९ । गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ पर्ने भएका छन्। प्रहरीले मनाङ्गेलाई पक्राउ गर्न आज जिल्ला अदालतबाट अनुमति लिने र पक्राउ गर्ने तयारी गरेको छ।
मनाङ्गे विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि आक्रमण गरेको भन्दै उजुरी दिएका थिए। सोही उजुरीमाथि छानबिनका लागि मनाङ्गेलाई पक्राउ गरिने र त्यसका लागि अदालतसँग आज अनुमति लिइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए।
पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै मनाङ्गेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए।
गुरुङले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आफूमाथि अन्याय भएको भन्दै न्यायका लागि प्रहरीकहाँ उजुरी दिने जानकारी गराएका थिए। उनले बुधबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएपछि मनाङ्गेले पनि बेलुका पत्रकार सम्मेलन गर्दै आफूमाथि ठगी गरेका कारण झापड हानेको बताएका थिए।
उनले आफ्ना १८ जना खेलाडीलाई गुरुङले अलपत्र पारेको आरोप पनि लगाएका छन्।


























