काठमाण्डौं, पुस २७ । प्रनिधिसभाको बैठक फेरि स्थगित गरिएको प्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। लगातार संसद बैठक स्थगित गरिनुलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्रजिम्मेवार व्यवहारका रूपमा लिएको नेपाली कांग्रेसले जनाएको छ।
संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भए पनि विगत तीन महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु आपत्तिजनक रहेको नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सत्तारूढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार बनाउन खोजिनु लज्जास्पद रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ।
सत्तापक्षका कारण झण्डै एक महिनादेखिसदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिएको बताएको नेपाली कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिएको छ। नेपाली कांग्रेसले तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत पनि गराएको छ।


























