पुस २५ । बलिउड अभिनेत्री दीपिका पादुकोण जवाहर लाल नेहरू विश्वविद्यालयमा गएको विषयलाई लिएर सुरु भएको विवाद झनझन चर्किँदै गएको छ। भारतीय जनता पार्टीका नेता गोपाल भार्गवले दीपिका पादुकोण जवाहर लाल नेहरू विश्वविद्यालयमा गएकोबारे गम्भीर आलोचनात्मक टिप्पणी गरेका छन्।
मध्य प्रदेश बिजेपीका नेता भार्गवले दीपिका पादुकोणको नाम नलिएरै भनेका छन् ‘हिरोइनहरुले मुम्बईमा डान्स गर्ने हो, जेएनयूमा जान आवश्यक थिएन।’
केही बिजेपी नेताहरु भने दीपिकाको समर्थनमा छन्। दिल्ली बिजेपीका दुईजना सांसद दीपिकाको समर्थनमा उत्रेका छन्। गायक तथा सांसद हंसराज हंस तथा दिल्ली बिजेपीका अध्यक्ष तथा सांसद मनोज तिवारीले दीपिकाको समर्थन गरेका हुन्।
मनोज तिवारीले बुधबार भनेका थिए, ‘हिंसाको विरोध गर्नु नै पर्छ।’
दीपिका गत आइतबार विश्वविद्यालयका विद्यार्थीमाथि नकाबधारीले गरेको आक्रमणको विरोध र प्रभावित भएका विद्यार्थीसँग भेट्न तथा विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउन जेएनयू पुगेकी थिइन्।